CORONA

रिक्सावाल भन्छन्ः घरखर्च चलाउनै गाह्रो भो…

कपिलवस्तु – कपिलवस्तु, वाणगङ्गाका शशिकपुर तामाङले तीन वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । बिहान जुरुक्क उठेदेखि साँझसम्म यात्रुलाई गन्तव्यसम्म पु¥याउने उनको दिनचर्या थियो तर अहिले बन्दाबन्दीले रोकिएको छ ।

दैनिक आम्दानीले उहाँको घर खर्च चल्ने गरेको थियो । ‘अहिले अटो चलाउनै पाइँदैन, घर खर्च चलाउनै गाह्रो’, घरमै थन्किएको अटो रिक्साको धुलो टक्टकाउँदै उनले भने, ‘शुरुमा अटो व्यवसायमा राम्रो कमाइ देखेर पाँच लाखमा रिक्सा किनेँ तर अहिले किस्ता तिर्नसमेत हम्मेहम्मे परेको छ ।’

लकडाउनपूर्व दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी गर्ने तामाङलाई अहिले भने अटोको किस्ता तिर्न र घर खर्च चलाउनसमेत धौधौ परेको छ । ‘शुरुशुरुमा त रु तीन हजारसम्म कमाएँ, घरखर्च पनि राम्रै चल्यो, अहिले राहत कताबाट पाइएला भनेर बस्नुपरेको छ’, तामाङले गुनासो गर्दै भने ।

गाउँमा रहेको समूहबाट ऋण झिकेर अटोरिक्सा खरीद गर्नुभएका तामाङलाई सोचेअनुसार आम्दानी नभएपछि किस्ता तिर्न समस्या भएको छ । ‘बालबच्चा ससाना छन्, उनीहरुलाई एकातिर कसरी खुवाउने चिन्ता छ भने अर्को्तिर घरभाडा तिर्नसमेत नसकिने अवस्था छ’, उनले भने, ‘पहिला त कोठा भाडा तिरेर छोरीलाई पढाउन र घर पनि राम्रै गरी चलाउन पुगेको थियो तर दुई महिना भयो घरको भाडा तिर्नसमेत सकेको छैन, कहाँबाट लिएर तिर्ने, स्रोत कतै छैन ।’

केही राहत पाएर घरपरिवारको छाक टार्दै आउनुभएका तामाङको भान्सामा अहिले थोरै मात्र चामल बचेको छ । चामल सकिएमा दुई र पाँच वर्षका छोरीलाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ । ‘छिमेकीसँग मागेर कति दिन चल्छ होला र ? तामाङले भने, ‘मासिक १३ हजार किस्ता पर्छ, कसरी तिर्ने हो थाहा छैन, केही छुट भए सजिलो हुनेथियो ।’

उनलाई ऋण लिएर किनेको रिक्सा निल्नु न ओकल्नुजस्तो भएको छ । पहिले दुई हजारसम्म कमाइ गर्दा उनको अलिकति बचत पनि हुने गरेको थियो तर लकडाउनका कारण त्यो पनि छैन । अर्का रिक्सा व्यवसायी चोकलाल भुर्तेलको पनि अवस्था उस्तै छ । चार वर्षअघि ऋण काढेर रिक्सा चलाउन शुरु गरेका भुर्तेलले जसोतसो गरेर आधा ऋण तिरे पनि अरु बाँकी नै छ । रु चार लाख २५ हजारमा खरिद गरिएको रिक्साको व्याज कसरी बुझाउने भन्ने चिन्ता उनलाई छ ।

लकडाउनका कारण खर्च कसरी चलाउने भने समस्या हुँदै गएको उनको भनाइ छ । ‘झण्डै डेढ महिनादेखि रिक्सा घरमै छ, अब कसरी किस्ता तिर्ने भन्ने समस्या छ’, भुर्तेलले भने, ‘अटो चलाएर जेनतेन परिवार पालेको थिएँ, अहिले घरमै बस्दा समस्यामाथि समस्या थपिएका छन् ।’

रिक्सा चालक थानेश्वर भुसाललाई पनि लकडाउनका कारण समस्या थपिएको छ । रिक्सा चलाएर दैनिक एक हजारसम्म कमाइ गर्दै आएका भुसालको हात यतिबेला खाली छ । ‘न त खेतीपाती छ, न कुनै आयस्रोत, रिक्साबाट राम्रै कमाइ हुने देखेर रिक्सा किँने तर यतिबेला निरास भएर बस्नुको बिकल्प छैन’, भुसालले भने ।

लकडाउनका कारण पेशा नै संकटमा परेको रामप्रसाद थारुले दुःखेसो गरे । ‘रिक्साकै कमाइबाट परिवारको छाक टर्दै आएको थियो, अब कहाँ जाने, के गर्ने कुनै अत्तोपत्तो छैन’ थारुले भने । वाणगङ्गा नगरपालिकामा अहिले दुई सयभन्दा बढी अटो रिक्सा छन् । जिल्लाका कपिलवस्तु, शिवराज, बुद्धभूमि नगरपालिकामा केही रिक्साव्यवसायी यस्तै समस्या भोगेर बसेका छन् ।

जिफन्ट वाणगङ्गाका अध्यक्ष भोजराज थारुले पालिकाहरुले रिक्साचालक तथा अन्य दैनिक श्रम गरी खाने मजदूरका लागि विकल्पको व्यवस्था गर्नुपर्ने बताउँदै जोखिम भए पनि उनीहरुलाई बाँच्ने आधार दिनुपर्नेमा जोड दिए ।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले दैनिक ज्यालामजदूरी गर्नेलाई राहतको व्यवस्था गरिएको जानकारी दिँदै समस्या भएमा नगरपालिकाका वडाहरुमा जान सुझाव दिए । लकडाउनका कारण रिक्सा चल्न बन्द भएपछि जीवन निर्वाह गर्न सबैलाई समस्या भएको घरदैलो जनसेवा प्रालिका अध्यक्ष गणेश शर्माले भने । ‘लकडाउन कहिले खुल्छ निश्चित छैन, जसले गर्दा रिक्सा चलाएर जीवन निर्वाह गर्ने विपन्न समुदाय मारमा परेका छन्’ उनले भने । -रासस 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्