काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्दै युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधारको अभियान अघि बढाएको बताउनुभएको छ। शनिबार काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले वर्षौंदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान सरकारले व्यवहारमा उतार्न थालेको दाबी गर्नुभयो। उहाँले व्यवसाय सञ्चालनमा रहेका कानुनी जटिलता तथा करको बोझ कम गर्दै उद्यममैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
अर्थमन्त्री वाग्लेले विगतका कर बक्यौता र प्रशासनिक झन्झटका कारण व्यवसाय बन्द गरेका वा निष्क्रिय रहेका साना उद्यमीहरूलाई लक्षित गर्दै सरकारले विशेष आममाफी कार्यक्रम ल्याएको जानकारी दिनुभयो। उहाँका अनुसार झन्डै दुईदेखि तीन लाख साना कम्पनी तथा व्यवसायीले अब केवल १ प्रतिशत प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसायलाई पुनः वैधानिक रूपमा सञ्चालन गर्न सक्नेछन्।
उहाँले सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउन मालपोत, राहदानी तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवामा आमूल सुधारको प्रक्रिया अघि बढाइएको बताउनुभयो। साथै, नागरिक एप मार्फत थप १०० सेवा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिँदै डिजिटल प्रणालीमार्फत सेवा विस्तार गरी बिचौलियाको प्रभाव अन्त्य गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
अर्थमन्त्री वाग्लेले सीमित स्वार्थ समूहको प्रभावमा रहेको राज्य संयन्त्रलाई सुधार गर्ने अभियान सुरु भएको उल्लेख गर्दै ठूला भ्रष्टाचार र वित्तीय अनियमिततासम्बन्धी प्रकरणमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो। उहाँले युवामा बढ्दै गएको निराशा र “यो देशमा केही हुँदैन” भन्ने सोचलाई चिर्न सरकार आधारभूत संरचना र नीतिगत सुधारमार्फत सकारात्मक वातावरण निर्माण गर्न लागिपरेको धारणा व्यक्त गर्नुभयो।
युवा उद्यमीहरूलाई देशभित्रै अवसर सिर्जना गर्दै नवप्रवर्तन, उत्पादन र रोजगारी विस्तारमा जोड दिन आग्रह गर्दै अर्थमन्त्री वाग्लेले आर्थिक रूपान्तरणको यात्रामा युवाको भूमिका निर्णायक हुने बताउनुभयो।





