प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच आज संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो । भेटमा नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ। साथै,नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ ।
आजदेखि सुरू हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क गएका थिए। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोलीमा सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ। ७८ औं महासभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन्।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन्।