१९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

काठमाडौँ – मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक स्कुलका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्।

राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन्।

प्रधानाध्यापकहरूले सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ। ‘सहमति विपरीतको सरूवा सजाय हो भन्ने महसुस गरी यो अन्यौलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामा पत्रमा उल्लेख छ। स्कुलको गुणस्तर सुधारका नाममा गाउँपालिकाले बिनाकारण प्रधानाध्यापकको सरूवा गर्न खोजेपछि सामूहिक राजीनामा दिन बाध्य भएको एक प्रधानाध्यापकले बताए। उनका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन्। यता मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरूवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए। उनले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे।

‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौं। प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरूवा हुनुहोस् भनेका हौं। उहाँहरूले नमानेपछि हामीले सरूवा गर्न खोजेका हौं,’ अध्यक्ष कालाखेतीले भने। पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार रूपैयाँ पुर्‍याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए।

‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो। सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौं। तर कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौं,’ अध्यक्ष कालाखेतीले भने। रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्