अनुसा थापा
भक्तपुर
नेपालका राजनीतिक दलहरु सामान्य ग्यास्ट्रिकले च्यापेपनि उपचार गर्न विदेश पुग्छन् । राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च गर्छन् । जनताले तिरेको करबाट उनीहरु विदेशी अस्पतालमा गएर उपचार गराउँछन् । तर, त्यही जनता यहाँ उपचार नपाएर छट्पटाइरहेको नेताहरुले देख्दैन् । सरकारी अस्पतालको अवस्था हेरिसाध्य छैन् । न डाक्टर छन् न उपचार गर्ने उपकरण । यता, सरकारी अस्पतालकै शुल्क पनि एकदमै मँहगो छ । गरिब जनताहरु त्यो ‘अफोर्ड’ गर्न सक्दैनन् ।
स्वास्थ्य व्यक्तिको आधारभूत हकअधिकारमा पर्छ । यद्यपि, नेपाली नागरिकहरु चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छन् । पैसा नहुनेहरु रोग च्यापेर बस्न बाध्य छन् । पछिल्लो समय मुलुकमा दीर्घकालीन रोगीहरु निरन्तर बढी रहेका छन् । कलेजो, मृगौला, फोक्सो, मेरुदण्ड, क्यान्सरलगायतका रोग थुप्रैमा देखिन थालेका छन् । अधिकांश महिलाहरु स्तन र पाठेघर क्यान्सरबाट पीडित छन् । यी रोगको उपचार एकदमै मँहगो भएकाले कतिपय रोग पालेर बसेका छन् ।
सरकारले यस्ता रोगीहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने हो । विडम्बना, नेताहरुले आफ्नो रोग देखे तर नागरिकहरु रोगले तड्पिएको देखेनन् । दीर्घकालीन रोग लागेकाहरुको अन्तिम विकल्प नै मृत्यु बनेको छ । पैसा नभएपछि के गर्ने ? उपचार नपाएपछि मर्नुबाहेक अन्य कुनै विकल्प नै रहँदैन् । आर्थिकस्तर अलिक राम्रै भएकाले पनि आफ्नो घरखेत सकाउँछन् तरपनि पुगे त हुन्थ्यो । नेता मात्र होइन् सरकारी कर्मचारीले पनि नेपालमै सहुलियतमा उपचार गर्न पाउँछन् ।
सरकारी कर्मचारीका निम्ति सरकारले थुप्रै अस्पताल खोलेको छ । यहाँ उपचार सम्भव भएन् भने विदेशमा गएर उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ । तर, जनताले यहाँ के पाउँछन् ? कर तिर्ने त आखिरी जनता हुन् नि । त्यही करमा नेतादेखि सरकारी कर्मचारीले मोजमस्ती गरेका छन् अनि मर्नुपर्नेचाँहि सँधै जनता ? सरकारी अस्पताल भनिएको छ तर निजीसरह नै शुल्क लिइन्छ । तैमाथि डाक्टर, नर्स पनि त्यस्तै छन् । अन्य मुलुकमा जनता ठूलो हुन्छन् ।
नेता र कर्मचारी जनताको सेवक हुन्छन् । तर, हाम्रो मुलुकमा नेता र सरकारी कर्मचारीलाई जनता उपचार नपाएर मरेपनि कुनै मतलब छैन् । गरिब जनताहरुको अवस्था न सरकारले देख्यो न सरकारी कर्मचारीले । विश्व एक्काइँसौ शताब्दीमा दौडिरहेको छ तर नेपालमा उपचार नपाएर पेट्रोल खन्याएर मर्नुपर्ने बाध्यताको अन्त्य अझैपनि हुन सकेको छैन् । अस्पताल लैजान सक्ने क्षमता नभएपछि बाबुआमाले आफ्नै छोराछोरीलाई साङ्लोले बाँधेर राखेका छन् ।
कसैलाई वर्षौंदेखि थुनेर राखिएको छ । कोही उपचार नपाएर मर्ने दिन कुरेर बसेका छन् । पीडा सहन नसकेर कतिपयले विष सेवन गरेर प्राण त्यागेका छन् । सरकारले स्वास्थ्य बीमाको योजना ल्याएको छ । त्यो स्वास्थ्य बीमा कस्ता व्यक्तिका लागि हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिला यो स्पष्ट पारिदिनुपर्यो । किन कि बाठाटाठाहरुले बीमा गरेका छन् । गरिब जनतालाई स्वास्थ्य बीमा भनेकै थाहा छैन् । फेरि बीमा गर्नलाई पनि पैसा चाहियो ।
सरकारी जागिरेहरुले बीमा गराउँदै आएका छन् । जसलाई सरकारले अस्पतालमा समेत सहुलियत प्रदान गरेको छ । काठमाडौंमा करोडौंको सम्पत्ति भएकाहरुले पनि स्वास्थ्य बीमाबाट फाइदा उठाइरहेका छन् । स्वास्थ्य बीमाको नाममा पनि हुनेखानेलाई पोस्ने काम भइरहेको छ । गरिब जनता यहाँ पनि हेरेको हेर्यै भए । सरकारले स्वास्थ्य बीमा गर्दा आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकतामा राख्नुपर्थ्यो । किन कि हुनेखानेले आफ्नै खर्चले उपचार गराउन सक्छन् ।
स्वास्थ्य बीमाको योजना कार्यान्वयनमा ल्याएपछि स्वास्थ्य क्षेत्रमा एकदमै बेतिथि बढेको छ । अस्पतालहरुले सय जनाको उपचार गराएर हजार जनाको बिल बनाउने गरेका छन् । सरकारसंग पैसा ल्याउँदै खाने काम अस्पतालहरुद्धारा भइरहेको छ । यता, अस्पतालले सरकारबाट आएको औषधीसमेत मेडिकलमा बेचेर पैसा खाने काम गर्दै आएका छन् । बिरामीलाई औषधी सकियो भन्ने अनि सरकारबाट आएको औषधी मेडिकललाई बेच्ने । स्वास्थ्य चौकीमा निःशुल्क उपचार र निःशुल्क औषधीको व्यवस्था सरकारले मिलाएको छ ।
तर, जनताले ती औषधी सित्तैमा पाइरहेका छन् त ? सरकारले कहिले अनुगमन गरेको छ ? जनता औषधी लिन जाँदा सकियो भन्दै खाली हात फर्काउने कर्मचारीले औषधी मेडिकललाई बेच्ने गरेका छन् । अधिकांश सरकारी अस्पतालमा स्वास्थ्यकर्मी भेटिदैनन् । स्वास्थ्य चौकीको हात पनि त्यस्तै छ । जनताले तिरेको करबाट तलब खान्छन् तर कामचाँहि निजीमा गर्छन् । हाजिर गर्ने अनि कुलेलम ठोक्ने । त्यस्ता स्वास्थ्यकर्मीलाई कसले कारबाही गर्ने ?
स्वास्थ्यकर्मीहरु यति फट्याहा छन् कि के भन्ने ? सरकारी अस्पतालमा आएका बिरामीलाई आफ्नो क्लिनिकमा रिफर गर्छन् । यहाँ उपचार सम्भव छैन् भन्दै आफूले आम्दानी गर्न सक्ने ठाँउमा पठाउँछन् । सरकारी अस्पतालमा सम्भव नहुने उपचार निजीमा कसरी सम्भव हुन्छ ? उही डाक्टरले सरकारी र निजी अस्पतालमा छुट्टाछुट्टै उपचार गर्ने हो ? अहिलेको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले यसअघि पनि सो जिम्मेवारी सम्हालिसकेका छन् । एमालेका नेता शेरबहादुर तामाङ्ग हुँदाखेरि उनले दीर्घकालीन रोगीको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने भनेका थिए ।
उही शेरबहादुरलाई सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट हराएर मोहनबहादुर आए । वर्तमान सरकारले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव जितेका मोहनबहादुर स्वास्थ्यदेखि सूचनामन्त्री भए । तर, उनले सिन्को पनि भाँचेनन् । आफ्नो क्षेत्रमा एउटा अस्पतालसमेत बनाउन सकेनन् । गरिब परिवारमा जन्मिएका उनको पृष्ठभूमि केलाउने हो भने उनलाई गुण्डाभन्दा केही फरक पर्दैन् ।
खासा व्यापारीबाट हप्ता उठाउने उनले अहिले भक्तपुरको बालकोटमा दशौं रोपनी जग्गा छ । यता, काठमाडौंमा महलजस्ता घर छन् । महाबौद्धको व्यापारीमाथि उनले त्यतिकै लगानी गरेका छन् । बैंकको सञ्चालकमा पनि छन् । बैंकको सञ्चालकमा बस्न कति लगानी गर्नुपर्छ ? सहकारीमा उनको पैसा कति हो कति । उनले भ्रष्ट्राचार नगरेको भए यत्रो सम्पत्ति कहाँबाट आयो ? यस्ता माफियालाई स्वास्थ्य क्षेत्र चलाउने डोरो थमाएर जनताले कहिले सहुलियतमा उपचार पाउँछन् ?
पैसा नहुनेले सित्तैमा उपचार गर्न पाउँछन् ? उनी मन्त्री भएको पैसा कमाउनका लागि हो । हिजो पटकपटक मन्त्री हुँदा पनि उनले आफ्नो लागि काम गरे । भोलि पनि आफ्नै लागि गर्छन् । पार्टीले पनि एउटै व्यक्तिलाई बारम्बार दोहोर्याएर मन्त्री बनाउँछन् अनि देशले कसरी निकास पाउँछ ? जनताले त अरुलाई पनि चुनेर पठाएका थिए त ? तर, एउटैलाई किन मन्त्री बनाउने ? दुईचोटि मन्त्री हुँदा सिन्को पनि नभाँचेकालाई तेस्रो पटक मन्त्री बनाउनुको के अर्थ रह्यो ?
कांग्रेसमा नयाँनयाँ अनुहार देख्न पाइएको छ । तीमध्ये कसैलाई मौका दिएको भए हुन्थ्यो । हरेक जिल्लाबाट सांसद् निर्वाचित भएर आएका छन् । कतिपय सांसद्को जिल्लामा अहिलेसम्म पनि अस्पताल छैन् होला । एम्बुलेन्स नभएर मर्नुपर्ने बाध्यता अझैपनि छ । त्यस्ता सांसद्लाई मौका दिएको भए उसले त्यही दुःख देखेर पनि विकास त गर्थ्यो । पार्टीको सभापतिको गुलामी गर्नेहरु पटकपटक मन्त्री बने । तर, जनताले चुनेर पठाएका सांसद्ले मन्त्री बन्ने मौका नै पाएनन् ।
माओवादीले शक्तिबहादुर बस्नेतलाई धेरै पटक मन्त्री बनायो । एमालेले विष्णु पौडेललाई कतिचोटि मन्त्री बनायो ? भीम रावल पनि तारन्तार मन्त्री भए । अहिलेका श्रममन्त्री शरतसिंह भण्डारी बारम्बार मन्त्री भए । यिनीहरुले कामचाँहि के गरे, दोहोरिनका लागि ? अरुले कहिले पनि ठाँउ नपाउने यो कस्तो व्यवस्था हो ? यस्तै पारा हो भने जनताले अब भोट नहाल्दा पनि हुन्छ । जहिले किन दुःख गरिरहने ? विकास कहिले हुनेवाला छैन् । पार्टीहरुको यस्तै पाराका कारण जनता निराश बनिसकेका छन् ।
सबैतिर उजाडिएको छ । जनता मरेका मर्यै छन्, नेता मोटाएका मोटार्यै । स्वास्थ्य मन्त्रालय सबैभन्दा भ्रष्ट्राचारी मन्त्रालय बन्न पुगेको छ । औषधी सप्लायर्ससंग कमिशन खाने क्रम रोकिएको छैन् । स्वास्थ्यमन्त्री बस्नेतलाई जनताको पर्वाह छैन्, पैसाको छ । अस्पतालबाट लाश निकाल्न नसकेर जनता घरघरमा चन्दा उठाउँदै हिँडेका छन् । राज्यलाई गिज्याउने योभन्दा अरु ठूलो विषय के हो ? कतिपयको लाश अस्पतालमा कुहिएर बसेको छ । देशमा स्वास्थ्य मन्त्रालय छ तर स्वास्थ्य क्षेत्रमा रद्दीभर पनि सुधार छैन् ।
किन कि स्वास्थ्य मन्त्रालयमा सबै माफियाहरु बसेका छन् । साँच्नै नै देशमा भ्रष्ट्राचार निर्मुल पार्ने हो भने मोहनबहादुर बस्नेतको सम्पत्ति छानबिन गर्नुपर्छ । उनको सम्पत्ति छानबिन गरेपछि कहाँबाट कसरी भ्रष्ट्राचार हुन्छ ? सत्यतथ्य बाहिर आउँछ ।