काठमाडौँ – डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो। उनको केही समयदेखि निसर्ग अस्पतालमा उपचार भइरहेको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। मंगलबार बिहान उनको मृत्यु भए पनि बुधबार मात्रै डेंगीका कारण मृत्यु भएको खुलेको थियो। पछिल्लो समय कैलालीमा डेंगीको प्रकोप फैलिएको छ।
साउन १ गतेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा मात्र २५ जनामा डेंगी संक्रमण भएको पाइएको थियो। डेंगी संक्रमणबाट बच्नका लागि सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रहसमेत गरेका छन्।