कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ स्थिति खैरार टोलमा कच्ची पुलको निर्माण गरिएको छ । महाकाली सिँचाई आयोजना तेस्रो चरण अन्तर्गत नहर निर्माणको काम सुरु भएपछि झलारी हुदै खैरार टोल जाने बाटो अवरुद्ध भएको थियो । बिच बाटो मै नहर खनिएपछि वारपार गर्न जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो । सुख्या समयमा वारपार गर्न त्यति कठिनाई नभएतापनि बर्षादको समयमा आवतजावत गर्न निक्कै समस्या भइरहेको थियो ।
विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानीयहरुलाई हिड्न समेत समस्या भइरहेको थियो । विगत लामो समयदेखि यस क्षेत्रमा सोहि बाटो हुदैँ यातायातका साधनहरु चल्न सकेका छैनन् । स्थानीय समस्यालाई मध्यनजर गर्दै बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले कच्ची पुलको निर्माण गरेको छ । वनका अध्यक्ष बहादुर सिँह महराले जनगुनासो र स्थानीयको बेहाल अवस्था देखेपछि पुल निर्माणको कामलाई अघि बढाएको बताएका छन् । बनबाट काठमा फन्टी, बल्लाबल्ली, चिरान काठ ल्याएर उक्त क्षेत्रमा जनश्रमदानमा पुल निर्माण गरिएको हो । सामुदायिक वनको ट्याक्टरमा तीन पटक गरि काठ ढुवानी गरिएको थियो । त्यसपश्चात त्यस क्षेत्रमा रहेको अगुवा स्थानीयहरुको जनश्रमदानमा शनिवार पुल निर्माण गरिएको हो ।
नहर निर्माण गर्ने ठेकेदारले पटक पटक ध्यानाकर्षण गर्दा समेत वेवास्ता गरेको र फोन समेत उठाउन छोडेपछि यस्तौ बैकल्पिक माध्यम रोजिएको हो । पुल निर्माण भएसँगै आवतजावतमा जोखिम न्यूनिकरण हुनुका साथै सहज भएको देखिन्छ । वनका अध्यक्ष महराले जनश्रमदानका उपस्थित सम्पूर्णलाई पुल निर्माणमा सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । बैजनाथ सामुदायिक वन यस क्षेत्रकै ठुलो बनको रुपमा लिइन्छ । वन पैदावार बस्तुहरु उपभोक्ताहरुमा विक्रि गरि यसबाट संकलन भएको राजश्वलाई स्थानीय स्तरमै परिचालित गरि बनको छवि उच्च भएको छ ।