सिसिटिभीको गहिराइमा पुगेर अध्ययन हुन्छ, तोडमोड हुन दिन्नौँ : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको आरोप लगाए । उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्ने कुरा मात्रै रहेको उल्लेख गरे ।

आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी उपमहासचिव ज्ञवालीको छ । उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए ।

उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रुपमा बिचौलियाहरुको नियन्त्रणमा जान थालेको दाबी गरे । उनले अहिलेको गठबन्धन सरकाराई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए ।

उपमहासचिव ज्ञवालीले अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उल्लेख गरे । उनले हातहतियार सम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा उल्लेखित वाक्य र व्यक्तिको दुस्साहसले नै अहिलेको गठबन्धनको तस्बिर देखाउने बताए ।

उनले भिडियो पुरानै भएको खण्डमा पनि अहिलेको सरकारको अवस्था त्यो भन्दा फरक नरहेको जिकिर गरे । उपमहासचिव ज्ञवालीले उक्त भिडियोले नेपालको अहिलेको कुरुप तस्बिर देखाएको बताए ।

उपमहासचिव ज्ञवालीले सरकार विद्युतीय सवारीसाधन मुख्य शहरमा चलाउने कुरामा गैर जिम्मेवार भएर बसिरहेको आरोप लगाए । पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताए । उनले आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पारे ।

कार्यक्रममा एमाले नेता एवम् नेकपा एमालेका उपभोक्ता हित संरक्षण तथा सुशासन विभागका अध्यक्ष यज्ञराज सुनुवार पनि उपस्थित रहेका थिए । समितिले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचकहरुको अवस्था, खाद्य तथा पेय पदार्थमा भएको मूल्यवृद्धिको अवस्था, इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यवृद्धिको अवस्था, निर्माण सामग्रीको मूल्यवृद्धिको अवस्था र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्