काठमाडौँ – आज देशका धेरैजसो स्थानीय सरकारले आगामी बर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । तर, कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरुकै अवरोध र विवादका कारण समयमा बजेट आउन सकेन । खासगरी नेकपा एमालेका जनप्रतिनिधिहरुको कारण बजेट प्रभावित हुन पुगेका छन् । एमालेका कारण पोखरा महानगर, हेटौंडा उपमहानगर, जीतपुर सिमरा उपमहानगर र विदुर नगरपालिकाको बजेट प्रभावित हुन पुगेको हो ।
हेटौंडामा बहिष्कारपछि नगर सभा स्थगित
नेकपा एमालेले नगर सभा बहिष्कार गरेपछि हेटौंडाको उपमहानगरको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबारका लागि तय भएको नगर सभा एमालेले बहिष्कार गर्दा १२ गते सम्मका लागि स्थगित भएको हो ।
जीतपुर सिमरामा पनि एमालेको उदण्डता
मधेस प्रदेशको जीतपुर सिमरा उपमहानगरमा पनि एमालेको असहयोगका कारण शुक्रबारको नगर सभा स्थगित भएको छ । यो उपमहानगरमा पनि एमालेबाट निर्वाचित प्रतिनिधिहरुले नियोजित ढंगले रजिस्ट्रारमा हाजिर नगर्दा गणपूरक संख्या पुग्न नसकेको हो ।
विदुरमा माइन्युट नै च्यातियो
वागमती प्रदेशको नुवाकोट जिल्लाको विदुर नगरपालिकामा पनि एमाले जनप्रतिनिधिले माइन्युट नै च्यातेपछि बजेट प्रभावित भएको छ । एमाले जनप्रतिनिधि र अन्य पार्टीका जनप्रतिनिधिबीच विवाद बढ्दै गएपछि एमालेका जनप्रतिनिधिले नगर कार्यपालिकाको बैठकबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेटसम्बन्धी निर्णय गरिएको निर्णय पुस्तिका (माइन्युट) नै च्यातेका हुन् ।
विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले माइन्युट च्यातेको भन्दै मेयर राजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएका छन् । शुक्रबार बिहान साढे ९ बजेतिर नगरपालिकाको कार्यालय प्रवेश गरी शाखा अधिकृत रामहरि खनालको हातबाट निर्णय पुस्तिका नियन्त्रणमा लिई च्यात्ने कार्य ढुंगेलले गरेको उजुरीमा उल्लेख छ ।