काठमाडौं – निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ ।
निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न केहीबेरमा पदाधिकारीहरुको बैठक डाकेको छ ।
निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नवित्दै केही जिल्लाहरुबाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् ।
शुरुवातमा नै आचारसंहिता उल्लंघन भएपछि निर्वाचन नजिकिदै जाँदा त्यसलाई नियन्त्रण गर्न कठिनाई हुने भन्दै आयोगले छानविन र कारवाहीका लागि योजना बनाउन खोजेको हो । सरकार र विभिन्न पदमा रहेकाहरुले समेत आचार संहिता उल्लंघन गर्न थालेको भन्दै उजुरी परेका छन् । त्यसवारेमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।