भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्नुभएको छ ।
भारतको केन्द्रीय बैंकले सन् २०२२/२३ मा डिजिटल मुद्रा ल्याउने बजेटमा उल्लेख छ । आउँदा दिनमा अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भारत सरकारको लक्ष्य छ । बजेटमा भौतिक संरचना निर्माणमा जोड दिइएको छ । भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक वर्षमा थप ८० लाख घर बनाइने उल्लेख छ ।
अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड छुट्याएकोमा यस वित्तीय वर्षका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको हो । यस वर्ष भारतले सबैभन्दा धेरै भुटानलाई २२ अर्ब ६६ करोड भारतीय रुपैयाँ दिने भएको छ ।