चितवन – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतिले मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ । यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार आव २०७५/७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो । यस्तै आव २०७७/७८ मा ३३, २०७६/७७ मा २६, २०७४/७५ मा २६, २०७३/७४ मा २५, २०७२/७३ मा १४, २०७०/७१ र २०७१/७२ मा ११/११ गैँडा मरेका थिए । यस्तै आव २०६९/७० मा १० गैँडा मरेको निकुञ्जको तथ्याङ्कले जनाएको छ ।
पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन् । गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि बढी हुने गरेको छ । सङ्ख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढ्दा अस्वाभाविकरूपमा लिन नपर्ने विज्ञहरु वताउँछन् ।