काठमाडौँ – नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो जानकारी दिए । उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताए ।
उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो ।
नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताए ।