काठमाडौँ – विवेकशील साझा पार्टीले यही पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ । सो यात्रा कञ्चनपुरबाट पुष २७ गते सुरु गरिनेछ र सहिद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य हुनेछ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दैै प्रवक्ता शरदराज पाठकले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने बताएका छन् ।
पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिनेछ ।
नागरिकहरूका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पु¥याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र भन्छन्, “देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षा नै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ । त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुप¥यो । सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो ।”
विवेकशील साझा पार्टी आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरूलाई पार्टीको यो विशेष यात्रामा साथ दिन हार्दिक अनुरोध गर्दछ ।