मलाई धेरै जनाले किन शेयर बजार बारे नबोलेको भनेर म्यासेज पठाउनुभएको छ। तपाईंहरु सवैको जवाफ दिन नसकेपनी जानकारीको लागि केही कुरा राख्न चाहन्छुः
क) म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछी गभर्नर महाप्रसाद अधिकारीजीसँगको पहिलो भेटमा मैले सरकार अस्थिरताको पक्षमा छैन, राष्ट्र बैंकको कोर म्यानडेट पनि आर्थिक स्थिरता राख्नु नै हो भन्ने मेरो विश्वास छ भनेको थिएँ। ब्याजदर तथा पूँजीबजारमा पनि स्थिरता नै रहोस भन्ने मेरो चाहना छ। मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि यसैबाट देशको र जनताको राम्रो हुन्छ भनेको थिएँ। मौद्रिक नीतिहरुमा सरकारले हस्तक्षेप नगर्ने हाम्रो परम्परा हो। मैले ४–१२ र सीसीडी रेशियो खारेजी गर्ने नियम आएपछी दोश्रो (सीसीडी रेशियो खारेजी गर्ने) मा म अझै कन्भिस छैन भन्ने कुरा सरोकारवालाहरु (गभर्नर ,अर्थमन्त्री) सँग राखेको पनि छु। शेयर बजारमा साना लगानीकर्ताहरुको ऋणमा पहुँच पुगोस, एकातिर केही मानिसले बैंकको पैसा शेयर बजारमा लगेर करोडौं अरबौं कमाउने र अर्कोतिर साना लगानीकर्ताहरु भने ठगिने स्थिती नआओस भन्नेमा मेरो जोड छ। ४–१२ को नीति आएपछि कती साधारण लगानीकर्ताले ऋण पाए? उक्त नीति कत्तिको प्रभावशाली भयो भन्नेवारेमा हामी अझै तथ्यांकको प्रतिक्षामा छौं। तर, आफ्नो व्यक्तिगत सहमति वा असहमती जे भएपनि राष्ट्र बैंक लामो अनुभव भएको संस्था भएकोले त्यहाँका साथीहरुको जजमेन्टलाई बेनिफिट अफ डाउट दिनुपर्छ भन्ने मेरो सोचाइ भने छ।
ख) शेयर बजार मानिसको सम्पत्ति डाभर्सिफाइ गर्ने एक माध्यम हो। यसले तपाईंको सम्पत्तिको कुल मुल्यको आर्थिक स्थिरता ल्याउन मद्दत गर्छ। उदाहरणको लागि तपाईसँग २० लाख रुपैयाँ छ, तपाईंले त्यसलाई बैंकमा राख्नुभयो भने १२ प्रतिशत मुद्दती ब्याजदर हुँदा महिनाको लगभग २०,००० रुपैयाँ पाउनुहुन्छ। तर बैंकको ब्याजदर घटेर ६ प्रतिशत भयो भने तपाईंको महिनाको आम्दानी १०,००० रुपैयाँमा झर्छ। तर, यदी तपाईंले १० लाख रुपैयाँ बैंकमा र १० लाख रुपैयाँ शेयरमा राख्नुभएको छ भने बैंकको ब्याजदर घट्दा शेयरको भाउ बढ्ने हुनाले तपाईंको आम्दानीमा खासै धेरै असर पर्दैन। केही मानिसले सम्पत्ति वर्षमै दुई तीन गुना गरेपनी शेयर बजार मूलतः सम्पत्तिको मूल्यको स्थिरताको लागि प्रयोग भयो भने राम्रो हुन्छ। त्यसबाहेक जग्गामा लगानी गर्दा तपाईंलाई कुनै बेला ५ हजार रुपैयाँ चाहियो भने जग्गा नै बेच्नुपर्ने हुनसक्छ जबकी शेयर बजारबाट ५ हजार बराबरको शेयर बेचे पनि हुन्छ। यस्ता विभिन्न कारणले शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम हो। यसलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हो।
ग) राष्ट्र बैंक र अर्थमन्त्रालयका जिम्मेवार नेतृत्वहरुलाई मेरो सल्लाह सधैं पूँजीबजारको बारेमा कम बोल्ने र ब्याजदर सकेसम्म स्थिर बनाउन कोशिस गर्ने गर्नुहोस भन्ने नै छ। धेरै जनताको पैसा लगानी भएको क्षेत्रको बारेमा जथाभावी बोल्दा वा काम गर्दा त्यसैले अरुको सम्पत्तिप्रति हाम्रो गैर जिम्मेवारीपन मात्र देखाउँछ।
घ) बजारमा धेरै खालका मान्छे छन्। आफु अनुकुल हुने हल्ला फैलाउने जस्ता काम धेरैले गर्छन्। यस्तो अवस्थामा साना लगानीकर्तालाई बचाउनु जरुरी छ। नेपाली काँग्रेसको एउटा नीति छः समग्र समृद्धी बढाउने र असमानता घटाऊने। यो २००८ सालको नेपालको प्रथम बजेट मै लेखिएको नीति हो। मैले योजना आयोगको उपाध्यक्षको हैसियतमा बेलावेलामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रो अर्थतन्त्रको स्थितिको बारेमा पनि रिपोर्ट गर्नेगर्छु। हाम्रा हरेक नीतिनियमले जस्तै पूँजीबजारले पनि समग्र समृद्धी बढाउने र धनी र गरीबको बिचको असमानता घटाऊने काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ। सरकार त्यसैले पूँजीबजारमा रहेका लाखौंं साना लगानीकर्ताहरुको सम्पत्ति, हक र हित सुरक्षित होस्, उनीहरुलाई सजिलोसँग ट्रेडिङ गर्नसक्ने प्रविधी त्यहाँ होस्, साना साना ऋणहरुमा उनीहरुको पहुँच पुग्नसक्ने स्थिती होस भन्नेमा नै लाग्ने छ भन्नेकुरामा म विश्वास पनि दिलाउन चाहन्छु।
ङ) अन्तमा, २ वर्षको कोभिडको मन्दिको बेलामा आयात कम भएको थियो र अहिले केही बढेको छ। वाणिज्य बैंकहरुले अनुशासित भएर ऋण प्रवाह गर्नुपर्छ र उनीहरु सरकारको पूँजीगत खर्चको ट्रेण्ड हेरेर पनि चल्नुपर्छ। अब यत्रो वर्षको तथ्यांक हेर्ने हो भने सरकारले कुन कुन महिनामा कती खर्च गर्छ भन्ने कुरा बैंकहरुको लागि नौलो नहुनुपर्ने हो। पैसा धेरै हुँदा एक महिनापछि के हुन्छ भनेर आँकलन नगरि जथाभावी ऋण प्रवाह गर्ने हो भने एक महिनापछि समस्या आउनु स्वाभाविक हो। मलाई के विश्वास छ भने राष्ट्र बैंक, बैंकहरु र अर्थमन्त्रालय मिलेर छिट्टै नै अहिलेका अप्ठेराहरु पार लगाउनेछन्।
(राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको फेसबुकबाट साभार)