सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु, आफ्नै भुगोल चिनाउने उद्देश्य

काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । केन्द्रिकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको हो ।

स्थानीय नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउनका लागि स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी चालु शैक्षिक सत्रबाट लागू गरिइसकेको गाउँपालिकाले जनाएको छ । कक्षा १ को पाठ्यपुस्तक पठनपाठन सुरु भएको र २ र ३ कक्षाको तयार भइरहको छ । अन्य कक्षाको पनि छिटै तयार हुने गाउँपालिकाले जनाएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप २०७६ ले व्यवस्था गरे बमोजिम स्थानीय जनशक्तिको उपयोग गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो । पाठ्यक्रममा गाउँपालिकाको परिचय, प्राकृतिक स्रोत र सम्पदा, संस्कार र संस्कृति, ऐतिहासिक स्थल र पर्यटन, पेसा व्यवसाय र प्रविधि, परम्परागत ज्ञान, सिप र कला, प्रकोप र वातावरण संरक्षण, स्वास्थ्य र सरसफाइका साथै स्थानीय भाषा र लिपि समेटिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

स्थानीय पाठ्यपुस्तकमा स्थानीय भाषा र लिपिमा तामाङ, ह्योल्मो र शेर्पा भाषालाई समेटिएको छ । भाषा, धर्म, भेषभूषा, प्रेरक व्यक्तिको जीवनी, खानी, जडीबूटी, बोटबिरुवाबारे जानकारीका साथै संरक्षण र सम्बद्र्धन, स्थानीय बाजाहरुबारे जानकारी, वातावरण संरक्षणका उपाय आदि बारे पाठ्यपुस्तकमा समावेश गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्