काठमाडौ – महाशिवरात्रीमा पाशुपत क्षेत्रलाई सजावट गरिएका फूलहरु चोरी भएका छन् । महाशिवरात्रिलाई विशेष बनाउन पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई फूलैफूलले सजाएको थियो । महाशिवरात्रीको दिन पाशुपत क्षेत्र निकै आकर्षक देखिएको थियो तर भोली पल्ट विहानै त्यो सुन्दरता थिएन ।
‘यो सजावट बाँदरबाट कसरी जोगाउने होला भन्ने चिन्ता थियो,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले भन्नुयो, ‘बाँदर चढ्न सक्ने ठाउँको बरु सुरक्षित छ, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएछ । विरक्त लाग्यो मलाई त ।’
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारतलगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।
ती फूलहरुबाट पुशपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलैफूलले बनाइएको छ, जसमा आकर्षक ढंगले ‘ओम नमः शिवाय’ लेखिएको छ । शिवलिंगदेखि शिवको बाहन साँढेसमेत फूलबाटै बनाइएको छ । ठाउँठाउँमा गमलाहरुमा पनि फूल राखिएको थियो । तर मानिसहरुले भुइँमा राखिएका गमलादेखि झुण्डाएर राखिएका फूलसमेत चोरी भएका छन् । बाँदरबाट जोगिए पनि मानिसबाट फूल नजोगिएकामा पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु चिन्तित छन् ।
यस वर्षको महाशिवरात्रिमा १२ लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शनिबार बिहानैबाट पशुपतिनाथ क्षेत्र वरपर सरसफाइ थालिएको छ ।
काठमाडौंमा सजाइएका फूल चोरी भएको यो घटना पहिलो भने होइन । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला तीनकुनेको सडकमा सजाइएका फूल र दुबोसमेत चोरी भएको थियो । त्यसपछि सशस्त्र प्रहरीको उपत्यका बाहिनीले फूलको सुरक्षाका लागि टोली नै परिचालन गरेको थियो ।