यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने

यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।
सवारीसाधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत हेर्न मिल्ने गरी दुई वर्षअघि इम्बोस्ड नम्बर प्लेटको वितरण गरिएको थियो । २०७४ भदौ ५ गतेबाट औपचारिक रूपमा इम्बोस्ड नम्बर प्लेट वितरण भएको थियो तर सर्वोच्च अदालतले ०७४ फागुन १० गते सवारीसाधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।
इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट सर्वोच्चले गत मङ्सिर २७ गते खारेज गरेपछि विभागलाई बाटो खुलेको हो । विभागले २०७३ को जेठमा पाँच वर्षमा २५ लाख इम्बोस्ड नम्बर वितरण गर्ने गरी चार अर्ब ९५ करोड रुपियाँको सम्झौता बङ्गलादेशको कम्पनी टाइगर डेकाटुरसँग गरेको थियो । सर्वोच्चको आदेशपछि सबै काम रोकिएको थियो । २०७४ भदौ ५ गतेसम्म पाँच हजार इम्बोस्ड नम्बर प्लेट छापिएको थियो । तीन हजार नम्बर प्लेट तयार भए पनि सवारीमा राखिएको छैन । महानिर्देशक हमालका अनुसार पहिला छाप्ने क्रममै रोकिएका बाँकी पाँच सय नम्बर प्लेटको काम सुरु गरिने छ । राजस्व तिरिसकेकालाई नम्बर प्लेट लिन आउन सूचना जारी गरिने हमालको भनाइ छ ।

 

सभार : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्