रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १४औं शृङ्खला सम्पन्न भएको छ । शनिबार करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब १५० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा त्रि-चन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा. सुरेन्द्र कुमार गौतमले ‘Scientific Paper Writing: Title to References & Submission to Revision’ विषयमा बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा विषयवस्तु सम्बन्धित उठेका दर्जन बढी प्रश्नहरुको जवाफ डा. गौतमले दिएका थिए ।
कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । राजेन्द्र जोशी, विकास निरौला, आकाश घिमीरे र सिजन गौतम प्राविधिक रहेका थिए । कार्यक्रममा संस्थाका अनुसन्धान संयोजन समितिका संयोजक सौरभ कटुवालले रिपोर्ट प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षता र उपाध्यक्ष सुरज पन्थको सञ्चालनमा सम्पन्न भएको थियो । कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो । सरकारले लकडाउन अन्त्य घोषणा गरे पनि संस्थाले जुम सफ्टवेयर मार्फत सञ्चालन भैरहेको ‘साप्ताहिक अन्लाईन अन्तरक्रिया’ कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष मगरले जानकारी दिए । उनले थपे ” स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थीका लागि विज्ञहरुसँग हरेको हप्ताको भर्चुअल बसाइँ विद्यार्थीमाझ निकै प्रभावकारी बन्दै गएकोले अन्तरक्रियालाई निरन्तरता दिदैछौं ।”