नेपाली सेनाले दुई उच्चअधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ । बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको जंगी अड्डाले जनाएको छ ।
माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको छ ।