नौगाडमा बजेटको अभाव हुँदा करारका कर्मचारीले तलब पाएनन्, कोरोना नियन्त्रणमा करिब १ करोड खर्च : अध्यक्ष धामी

दार्चुला – नौगाड गाउँपालिकामा करार कर्मचारीहरुलाई चैत महिनाबाट तलब दिन नसकिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताएका छन् ।
शुक्रबार उपहारखबरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष धामीले राजश्व बाँडफाँडबाट पाउनु पर्ने करिब ४ करोड रकम गाउँपालिकाले नपाउँदा कर्मचारीको तलब दिन समस्या भएको बताए । उनका अनुसार कोरोनाको महामारीले गर्दा आन्तरिक राजश्वमा समेत भारी गिरावट आएको र नेपाल सरकारबाट प्राप्त हुनुपर्ने राजश्व बाँडफँडको रकम पनि कम आएकोले कर्मचारीहरुको तलब र विकासे योजनाहरुको भुक्तानीमा समस्या भएको छ । कोराना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले करिब १ करोड खर्च गरेको अध्यक्ष धामीले बताए । उनले भने, ‘काठमाडौँबाट विद्यार्थीहरुको उद्धार, भारतबाट नेपाल फर्किएकाहरुको सीमा क्षेत्रबाट उद्धार गर्दा र क्वारेन्टाइनहरुको व्यवस्थापन, काठमाडौँ, कञ्चनपुर, कैलाली लगायतका ठाउँमा रहेका विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु ३ हजारका दरले राहत उपलब्ध गराउँदा करिब १ करोड खर्च भएको छ ।’

अध्यक्ष धामीका अनुसार करार कर्मचारीले चैत देखि तलब पाएका छैनन् भने निजि स्रोतका शिक्षकहरुलाई पुष, माघ देखि नै तलब दिन सकिएको छैन । जनप्रतिनिधि र कर्मचारीहरुको सेवा सुविधा समेत कटौति गरिएको उनको भनाई छ ।
नयाँ बजेट निर्माणमा समेत अन्यौलता भएको अध्यक्ष धामीले सुनाए । उनका अनुसार आगामी आर्थिक वर्षको बजेमा कुनै नयाँ कार्यक्रम समावेश गर्न सकिने अवस्था छैन । बजेटको आकार सानो, आन्तरिक श्रोतको कमी र जन आकांक्षा ठूलो भएका कारण बजेट निर्माणमा निकै चुनौती भएको अध्यक्ष धामीले बताए । यद्दपी बजेट निर्माणका लागि छलफल चलिरहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्