काठमाडौं – नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर उठाइने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गरेबापत शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ।
निर्धारित शुल्कअनुसार वर्ग १ मा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। वर्ग २ मा पर्ने मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
त्यस्तै, वर्ग ३ मा पर्ने बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। वर्ग ४ मा पर्ने मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।





