काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार गठनको सुरुवात नै आतङ्क, आगजनी र तोडफोडबाट भएको टिप्पणी गरेका हुन् ।
उनले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको आरोप लगाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरेको दाबी गरे । प्रधानन्यायाधीश भइसकेको व्यक्ति संविधान मिचेर प्रधानमन्त्री बनेको र उहाँकै एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको ओलीको भनाइ थियो ।
कार्यक्रममा ओलीले भने, ‘अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक, आतङ्कपूर्ण, आगजनी र तोडफोडबाट सुरु भएको हो । योभन्दा अघिल्लो प्रधानमन्त्री संविधान मिचेर आफैँ प्रधानन्यायाधीश भएर पनि कसले लगेर कुर्सीमा राख्यो थाहा नपाइकन प्रधानमन्त्री भएर मनपरी तन्त्र चलाएर व्यक्तिगत तवरमा संसद् विघटनको सिफारिस गर्नुभयो ।’
राष्ट्रपतिप्रति टिप्पणी गर्दै ओलीले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको संरक्षण हुन नसक्ने बताए । उनले भने, ‘सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो । त्यो साँचो कुरा हो । बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो । अनि असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ ?’ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले समयमै फैसला नसुनाएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । अदालतको अपमान गर्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्दै उनले मुद्दामा फैसला नै नगरेर अदालत मौन बसेको आरोप लगाए । उनले भने, ‘सर्वोच्च अदालतले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन भयो भनेर हामीले मुद्दा हालेपछि ठिक छ, हराउनुस्, अन्याय गर्नुस् तर फैसला त गर्नुस् । उहाँहरूको मनले असंवैधानिक ढङ्गले विघटन गर्नु ठिकै छ भन्ने लाग्थ्यो भने त्यही भनिदिए भइहाल्थ्यो नि । तर, फैसला नै नगरेर चुप लागेर बस्नुभयो । अहिले पनि मुद्दा छँदै छ ।’
देश संवैधानिक ढङ्गले सञ्चालन नभएको र लोकतान्त्रिक संस्थाहरू कमजोर पारिँदा राज्यका कुनै पनि निकायले प्रतिवाद नगरेको भन्दै ओलीले आश्चर्य व्यक्त गरे । लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा गर्नुपर्नेमा उहाँले जोड दिए । राज्यका निकायहरू कसैको आदेशका आधारमा नभई संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने उनको भनाइ थियो । देशलाई संवैधानिक तथा लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्न दबाब दिन युवाहरू सङ्गठित हुनुपर्ने आवश्यकता पनि ओलीले औँल्याए ।




