काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबीच कुनै मतभेद नरहेको स्पष्ट पार्नुभएको छ । पार्टी र सरकार एउटै लय र चरणमा अघि बढिरहेको उहाँको भनाइ छ ।
आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री आचार्यले प्रधानमन्त्री र सभापतिबीच हिजो पनि मतभेद नरहेको र अहिले पनि नरहेको बताउनुभयो ।
सभापति र प्रधानमन्त्रीका विषयमा साझा सुझाव आएको उल्लेख गर्दै उहाँले तथ्यमा आधारित भएर सांसदहरूले राखेका विषयमा समेत कुनै असमझदारी नरहेको जानकारी दिनुभयो ।
पार्टी र सरकारबीच एकअर्कालाई आवश्यक सुझाव दिने तथा सचेत गराउने काम स्वाभाविक भएको उहाँको भनाइ छ । ‘सरकार रास्वपाकै हो । सरकारले बाटो बिरायो भने पार्टीले प्रश्न गर्छ । पार्टीले बाटो बिरायो भने सरकारबाट पनि प्रश्न उठ्न सक्छ,’ उहाँले भन्नुभयो ।
महामन्त्री आचार्यले पार्टीभित्र आन्तरिक विवाद रहेको भन्ने चर्चालाई अस्वीकार गर्दै पार्टी र सरकारबीच कुनै दूरी नरहेको दोहोर्याउनुभयो ।





