कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५३ रन बनाएको हो । कर्णालीका हुसैन तलतले अविजित ५१ रन बनाउँदा आरिफुल इस्लामले ३५ रनको योगदान दिनुभयो ।

चितवनका कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले समान दुई–दुई विकेट लिनुभयो । चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिइसकेको छ । ६ खेलबाट सात अङ्क जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । समान खेलबाट चार अङ्क रहेको कर्णाली सातौँ स्थानमा छ ।

एनपीएलको लिग चरणअन्तर्गत आजै बेलुका ५ बजे काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सबीच अन्तिम खेल हुँदैछ । काठमाडौँ पनि प्लेअफमा पुगिसकेको छ भने पोखरा बाहिरिइसकेको छ । काठमाडौँ ६ खेलबाट आठ अङ्कसहित तेस्रो र पोखरा दुई अङ्कसहित तालिकाको पुछारमा छ ।

यसअघि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले पनि प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् । आजको अन्तिम खेलपछि लुम्बिनीसँग क्वालिफायर खेल्ने तथा चितवनसँग एलिमिनेटरमा भिड्ने टोलीको टुङ्गो लाग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्