एनपीएल : सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित, डेब्युमै मिलरको ९३ रन

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

कर्णालीका लागि डेब्यु खेल खेलेका दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। ५५ बलको सामना गरेका मिलरले ७ छक्का र ५ चौका प्रहार गरे। सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

सुदूरपश्चिमका सेफ जेबले सर्वाधिक ३५ रन बनाए। त्यस्तै विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, ईशान पाण्डेले २३ तथा थरिन्दु रत्नायकले अविजित २२ रनको योगदान दिए। कर्णालीका मार्क वाटले २ विकेट लिए।

यस जितसँगै सुदूरपश्चिम रोयल्स ५ खेलबाट ६ अङ्क जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको कर्णाली याक्स ४ खेलबाट ४ अङ्कसहित पाँचौँ स्थानमा छ।

एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ५ बजे सुरु हुनेछ। तीन खेल खेलेको चितवन ३ अङ्कसहित सातौँ स्थानमा छ भने तीनवटै खेलमा पराजित पोखरा अङ्कविहीन हुँदै तालिकाको पुछारमा रहेको छ।

आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्