काठमाडौं । नेपाल व्यापार संघले बाढीपहिरोका कारण प्रभावित उत्तरी नाका तातोपानी र केरुङलाई सुरक्षित, सहज तथा नियमित रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
संघका अध्यक्ष गिरिराज पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीसमक्ष यस विषयलाई संसद् तथा सरकारको उच्च तहमा प्राथमिकताका साथ उठाइदिन आग्रह गरेका हुन्।
बाढीपहिरोका कारण उत्तरी नाका प्रभावित हुँदा हजारौँ व्यवसायी, उपभोक्ता तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको अध्यक्ष पोखरेलले बताएका छन्। नाका बन्द वा अवरुद्ध हुँदा व्यापार व्यवसायमा मात्र नभई राज्यको राजस्व, रोजगारीका अवसर, आपूर्ति व्यवस्था र आम उपभोक्तासमेत प्रभावित हुने उनको भनाइ छ।
तातोपानी र केरुङ नाका नियमित सञ्चालनका लागि नेपाल र चीन सरकारबीच कूटनीतिक तथा राजनीतिक तहबाट तत्काल पहल आवश्यक रहेको पोखरेलले बताएका छन्।
उनले व्यापारिक नाकाको अवरोध हटाउनु व्यवसायीको हितसँग मात्र सम्बन्धित विषय नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण सवाल भएको उल्लेख गरेका छन्।
नाका सहज रूपमा सञ्चालन हुन सके आयात–निर्यात व्यापार विस्तार, व्यवसायीको लगानी संरक्षण, रोजगारी सिर्जना तथा सरकारी राजस्व वृद्धिमा सकारात्मक योगदान पुग्ने संघको अपेक्षा छ।
संघले प्रभावित नाका सञ्चालनको विषयलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायमार्फत शीघ्र समाधान खोज्न सरकार तथा राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएको छ। ज्ञापनपत्र बुझाउन नेपाल व्यापार संघको तर्फबाट अध्यक्ष पोखरेल सहित वरिष्ठ उपाध्यक्ष जयकृष्ण शर्मा, महासचिव ज्योति कुमार श्रेष्ठ, कार्यसमिति सदस्य प्रमोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।





