नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब नाघ्ने

काठमाडौं – नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभाले पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन भएको छ। समीक्षा अवधिमा निक्षेप दायित्व १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी १२.१५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको वासलातको आकार १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको जनाइएको छ।

प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।

सभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि र आधुनिक बैंकिङ सेवालाई प्राथमिकतामा राखेर बैंकले काम गरिरहेको बताए। उनले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै शेयरधनी, ग्राहक, कर्मचारी, नियामक निकाय तथा अन्य सरोकारवालाको हितलाई ध्यानमा राखेर अघि बढिरहेको उल्लेख गरे।

नबिल बैंकले हाल देशभरका २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ विस्तारका लागि ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ भने सन् २०३० सम्म कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका लागि तयार बैंक बन्ने लक्ष्य लिएको जनाएको छ। बैंकले आफ्नो भावी रणनीतिमा विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि र रूपान्तरणलाई समेट्ने पाँच ‘टी’ अवधारणालाई समेत अघि बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्