कांग्रेस महाधिवेशन: निर्वाचन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक, संख्या ७ हजार ११४

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ। कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अन्तिम नामावली सार्वजनिक भएसँगै निर्वाचनमा सहभागी हुने प्रतिनिधिको संख्या ७ हजार ११४ पुगेको छ। निर्वाचन समितिले आज बिहान ९ः३० बजे मतदाता नामावलीमाथि दाबी–विरोधको समय तोकेको छ। त्यसपछि ९ः३० देखि १०ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

यस्तै, उम्मेदवार मनोनयन दर्ताका लागि फारम वितरण गरिने तथा दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ।

यसैबीच, कांग्रेसको सोमबार सम्पन्न बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ। संशोधित विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ।

महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको सहजताका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ। आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र तथा निर्वाचनस्थलमा स्वयंसेवक परिचालन गरिएको हो।

कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्वयंसेवक परिचालन गरिएको हो। बन्दसत्र हुने स्थान तथा निर्वाचनस्थलमा स्वयंसेवक खटाइएको उहाँले बताउनुभयो।

कांग्रेसका अनुसार महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट करिब ७ हजार ५०० प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज र भोलि बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।

बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरिसक्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्