काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर चर्चा भएजस्तो सरकार कमजोर नरहेको भन्दै वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्नेबारे विभिन्न समयमा भइरहेको चर्चाको खण्डन गरेका हुन्। ‘सरकार अहिले ढल्छ, दसैँमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो सम्भव छैन। सरकार बलियो छ, सरकार ढल्छ भन्नेहरू नै ढल्नेछन्,’ उनले भने।
देश निर्माणको अभियानमा सबै राजनीतिक दललाई साथ लिएर अघि बढ्ने बताउँदै लामिछानेले दलीय सहकार्यका लागि रास्वपा सधैँ तयार रहेको उल्लेख गरे। परिवर्तनको मुद्दामा रास्वपाले नेतृत्व गरिरहेको दाबी गर्दै उनले देश परिवर्तनको अभियानमा सबै राजनीतिक शक्तिलाई साथ दिन आग्रह गरे।
रास्वपा नेतृत्वको सरकारले लोकतन्त्र र अर्थतन्त्रलाई कमजोर हुन नदिने प्रतिबद्धता पनि लामिछानेले व्यक्त गरे। जनताको मतबाट रास्वपा ठूलो राजनीतिक शक्ति बनेको उल्लेख गर्दै उनले परिवर्तनका मुद्दामा पार्टी गम्भीर रहेको बताए। ‘जनताको मन जित्नेगरी काम गर्दैछौँ। लोकतन्त्रको हुर्मत लिने काम गर्नेछैनौँ। तपाईंहरूले कसैले पनि त्यो काम नगर्नुहोला,’ लामिछानेले भने।
कांग्रेसको महाधिवेशनमा आफ्नो पार्टीलाई आमन्त्रण गरेकोमा उनले आयोजकप्रति धन्यवादसमेत व्यक्त गरे।





