‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु,’ प्रचण्डले भने। विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैंमा ‘क्रमभंग’ भएको प्रचण्डको भनाइ थियो। उनले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्न थापालाई आग्रह गरे।
प्रचण्डले थापा अब कांग्रेसको नेतृत्वमा मात्र सीमित नभई देशकै नेतृत्व गर्ने दिशामा अघि बढ्नुपर्ने बताए। त्यसका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ थियो। ‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौँ,’ प्रचण्डले भने। मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै प्रचण्डले प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्न राजनीतिक दलहरूबीच सहकार्य र एकता अपरिहार्य रहेको उनको भनाइ थियो।
शान्ति सम्झौताका केही विषय अझै टुंगिन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती विषय समयमै समाधान गर्नुपर्ने बताए। शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसके मुलुक पुनः द्वन्द्वतर्फ जाने जोखिम रहेको उनको चेतावनी थियो। ‘शान्ति सम्झौताका केही चिज अझै टुंग्याउन बाँकी छ। यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,’ उनले भने।
मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले कांग्रेसको नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे। ‘सबै मिलेर समृद्ध नेपालको विकास गर्न सबै मिलेर जानेछौँ भन्ने विश्वास छ,’ प्रचण्डले भने।




