काटमाडौँ – बैतडीको पाटन नगरपालिका–७ का ९० वर्षीय जयबल्लभ भट्टको संस्मरणात्मक काव्यकृति ‘पुर्खाका पाइला’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कृतिको लोकार्पण गर्नुभएको हो । कृति लोकार्पण गर्दै खनालले पुस्तकमा पूर्वीय संस्कृति, संस्कार र स्थानीय सभ्यताका विभिन्न पक्षलाई कवितात्मक शैलीमा समेटिएको बताउनुभयो ।
कृतिमा बैतडीको किम्तोली क्षेत्रको सामाजिक तथा सांस्कृतिक सभ्यतालाई कवितामार्फत प्रस्तुत गरिएको छ । लामो समय शिक्षण पेसामा बिताउनुभएका भट्टले आफ्नो पाँच दशक लामो शिक्षण अनुभवसँगै स्थानीय भट्ट जातिसँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक विषयलाई पनि पुस्तकमा समेट्नुभएको छ । स्थानीय समाजमा पुस्तौँदेखि सुनिँदै र हस्तान्तरण हुँदै आएका विभिन्न प्रसङ्गलाई संस्मरण तथा काव्यका माध्यमबाट अभिलेखीकरण गर्ने प्रयास पुस्तकमा गरिएको छ ।

कृतिबारे पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गाउँको इतिहास मानिसको स्मृतिमा सुरक्षित रहने र त्यसलाई अभिलेखमा ल्याउनु महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँका अनुसार इतिहासका कतिपय पक्ष राजदरबारका दस्तावेज तथा युद्धका घटनामार्फत लेखिए पनि गाउँको इतिहास भने मानिसका सम्झना, अनुभव र जनश्रुतिमा बाँचेको हुन्छ । भट्टले त्यस्ता विषयलाई खोज्दै, सुन्दै र सम्झिँदै पुस्तकमा उतारेको चन्दको भनाइ छ ।
साहित्यकार तथा उपप्राध्यापक भुवन निस्तेजले पुस्तकमा समेटिएका कतिपय ऐतिहासिक प्रसङ्ग सुदूरपश्चिम र कुमाउ क्षेत्रको इतिहाससँग मेल खाने बताउनुभएको छ । उहाँले पुर्खाले सुनाउँदै आएका विषयलाई लिखित रूपमा अभिलेखीकरण गर्नु सकारात्मक प्रयास भएको उल्लेख गर्नुभयो । स्थानीय जनश्रुतिमा आधारित इतिहासका विभिन्न तथ्यलाई काव्यात्मक शैलीमा प्रस्तुत गरिएकाले कृति नयाँ पुस्ताका लागि समेत उपयोगी हुने उहाँको भनाइ छ ।

निस्तेजका अनुसार कृतिमा तत्कालीन मुगल शासकहरूको आक्रमणविरुद्ध मध्यकालीन डोटीका राजा हरि शाही र कल्याण चन्द मिलेर गरेको प्रतिकार तथा युद्धसँग सम्बन्धित प्रसङ्गसमेत समेटिएका छन् । यस्ता ऐतिहासिक घटनालाई स्थानीय स्मृति, जनश्रुति र साहित्यिक अभिव्यक्तिसँग जोडेर प्रस्तुत गरिएको पुस्तकले बैतडी तथा आसपासको क्षेत्रको सामाजिक–सांस्कृतिक इतिहास बुझ्न सामग्री प्रदान गर्ने बताइएको छ ।
९० वर्षको उमेरमा भट्टले आफ्नो दीर्घ शिक्षण अनुभव, स्थानीय समाजका स्मृति तथा पुर्खाबाट हस्तान्तरण हुँदै आएका कथनलाई काव्यका रूपमा अभिलेखमा ल्याउनुभएको हो । ‘पुर्खाका पाइला’ले स्थानीय इतिहास, संस्कृति र मौखिक परम्परालाई साहित्यिक कृतिमार्फत संरक्षण गर्ने प्रयास गरेको छ । यसले नयाँ पुस्तालाई आफ्नो स्थानीय इतिहास र पुर्खाको योगदानबारे जान्न सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ ।




