काठमाडौँ । लगातारको वर्षा, पहिरो, बाढी तथा सडक कटानका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात सहज बनाउने काम भइरहेको जनाएको छ।
सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग (NH01) भने दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा रहेको छ। पृथ्वी राजमार्गअन्तर्गत रातीखोला, पानीधारा (हग्दी–फिस्लिङ नजिक) मा आएको ठूलो ढुंगा हटाएपछि बिहानदेखि यातायात सञ्चालन हुने जनाइएको छ।
नारायणगढ–मुग्लिन सडकमा साना–ठूला पहिरोका कारण पोखरा जाने सवारीसाधनका लागि आवागमन खुला गरिएको छ। बीपी राजमार्गअन्तर्गत मान्ती, पिप्ले, दाउन्ने–कालोपुल, चार सयबेँसी, कटुन्जे, चौकीडाँडालगायतका स्थानमा पहिरो तथा डाइभर्सनका कारण सडक अवरुद्ध भएकाले खुलाउने काम जारी छ। थप क्षति नभएमा भोलि बिहानसम्म केही स्थानमा सडक खुल्ने सम्भावना रहेको विभागले जनाएको छ।
कान्ति राजमार्गमा पहिरो हटाउने काम भइरहेको छ। थप पहिरो नआएमा राति १० बजेपछि सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हुलाकी राजमार्गअन्तर्गत ठोरी–माडी सडकखण्डमा चितवनको घ्याङखोलाको धार परिवर्तनका कारण बनेको सडकको एप्रोच रोडको विङ वालमा थप क्षति पुगेपछि यातायात प्रभावित भएको छ। सडक विभागले तत्काल मर्मत गरी सडक सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।
त्यस्तै, सिद्धिचरण राजमार्ग (NH20) अन्तर्गत ओखलढुंगा–सल्लेरी खण्डको सोभुखोला नजिक सडक भासिएपछि ब्याक कटिङ गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ। मध्यपहाडी राजमार्ग (NH03) अन्तर्गत घोडाबाँधे–हटिया खण्डमा पहिरोका कारण सडक अवरुद्ध छ भने हटिया–बुर्तिबाङ खण्डमा एकतर्फी यातायात सञ्चालनमा रहेको छ।
कालीगण्डकी करिडोर (NH48) अन्तर्गत बेनी–जोमसोम, पाल्पा, बागलुङ तथा नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिने तथा पुलको एप्रोच भत्किने समस्या देखिएको छ। पहिरो पन्छाउने काम जारी रहे पनि सम्पूर्ण सडक सुधार हुन तीन दिनभन्दा बढी समय लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
तमोर करिडोरमा खोलानाला बढेका कारण यातायात प्रभावित भएको छ। बहाव बढेमा सडक बन्द हुन सक्ने र बहाव घट्दा खुल्ने अवस्था रहेकाले आवश्यक उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
राप्ती राजमार्गअन्तर्गत कपुरकोट–खारखोला–चुनिबोट खण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासनको निर्णयअनुसार यातायात रोकिएको हो। कर्णाली राजमार्गअन्तर्गत गगने खोला, राँका तथा बाइसीसिमल–दहीखोला खण्डमा पहिरोका कारण सडक अवरुद्ध रहेकाले पहिरो हटाउने काम भइरहेको छ।
भालुवाङ–चन्द्रौटा–कृष्णनगर सडकमा पहिरो तथा डुबानका कारण आंशिक अवरोध रहेको छ। साना सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न सकिने र पहिरो तथा डुबान हटाउने काम भइरहेको विभागले जनाएको छ। बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासों गाउँपालिका, खोत्रोलगायतका स्थानमा पहिरोका कारण सडक प्रभावित छ। पहिरो पन्छाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ।
त्रिभुवन राजपथमा झ्याप्लेमा पहिरोका कारण एकतर्फी रूपमा मात्र यातायात सञ्चालनमा रहेको छ। पहिरो पन्छाउने काम जारी रहेकाले भोलि बिहानसम्म दुईतर्फी सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ। साइलङ्दी–सन्धिखर्क–गोरापाटन सडकमा भने हालसम्म १२ स्थानमा पहिरो खसेको र पहिरो तथा ढुंगा हटाउने काम जारी रहेको सडक विभागले जनाएको छ।





