बङ्गालको खाडीबाट आएको शक्तिशाली प्रणाली नेपालतर्फ, आज रातिदेखि मुसलधारे वर्षाको सम्भावना

 

काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बङ्गाल र बिहारलगायत क्षेत्रमा अत्यधिक वर्षा तथा डुबान गराउँदै नेपालतर्फ सरेको छ। उक्त प्रणालीको प्रत्यक्ष प्रभावका कारण आज रातिदेखि नेपालका धेरै स्थानमा मुसलधारे वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बङ्गालको खाडीबाट विकसित भएको शक्तिशाली प्रणाली नेपालको वायुमण्डलमा प्रवेश गरिसकेको छ। यसको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा लगातार वर्षा तथा कतिपय ठाउँमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यस्तै, मधेश र कर्णाली प्रदेशका विभिन्न स्थानमा समेत आगामी दुईदेखि तीन दिनसम्म मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतह अचानक बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा तराईका होचा भूभागमा डुबान हुनसक्ने जोखिम रहेको छ।

उच्च हिमाली क्षेत्रमा समेत अत्यधिक हिमपातको सम्भावना रहेकाले मौसम प्रतिकूल हुने अवधिमा पदयात्रा तथा पर्वतारोहण नगर्न सम्बन्धित निकायले चेतावनी दिएको छ। सम्भावित विपद्लाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दूरीको रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

वर्षाका कारण हुनसक्ने सम्भावित विपद् व्यवस्थापनका लागि देशभरका सुरक्षा निकाय तथा उद्धार टोलीलाई उच्च सतर्कतामा राखिएको जनाइएको छ। नदी तथा खोला आसपासका बस्ती, पहाडी क्षेत्र र डुबानको जोखिममा रहेका स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यता, कृषि मन्त्रालयले समेत वर्षाको सम्भावनालाई ध्यान दिँदै किसानलाई पाक्न लागेको धानबाली जोगाउन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले तत्काल धान नकाट्न तथा मौसमको अवस्था हेरेर बाली व्यवस्थापन गर्न किसानलाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्