डेटा सेन्टरमा ह्याकरको आक्रमणपछि सेयर बजार बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, नियामकले थाल्यो छानबिन

काठमाडौँ । डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार प्रभावित भएको छ। ७२ वटा ब्रोकरको प्रणाली राखिएको ‘डेटा हब प्रालि’मा आइतबार बिहानदेखि प्राविधिक समस्या देखिएपछि सोमबार सेयर कारोबार नै स्थगित गरिएको हो। डेटा हबमा देखिएको समस्याका कारण ब्रोकरको कारोबार प्रणालीसँगै टीएमएस, सीडीएससीसम्बन्धी प्रणाली, भुक्तानी गेटवे तथा अन्य आपसमा जोडिएका सेवासमेत प्रभावित भएको जनाइएको छ।

नेप्सेका अनुसार हाल ९० वटा ब्रोकर सञ्चालनमा रहेकामा ७२ वटा ब्रोकरको तथ्यांक डेटा हबमा व्यवस्थापन हुँदै आएको छ। बाँकी १८ ब्रोकरको तथ्यांक भने अन्य कम्पनीको डेटा सेन्टरमा रहेकाले उनीहरूको प्रणालीमा उक्त समस्या देखिएको छैन। ७२ ब्रोकरको प्रणाली सञ्चालनमा समस्या आएपछि स्टक ब्रोकर्स एसोसिएसनले कारोबार स्थगन गर्न लिखित आग्रह गरेको र सोही आधारमा सोमबार बजार बन्द गरिएको नेप्सेले जनाएको छ।
डेटा हब प्रालिमा आइतबार बिहान ४ बजेदेखि ह्याक तथा र्‍यान्समवेयर आक्रमणको घटना देखिएको थियो। समस्या तत्काल पहिचान तथा समाधान हुन नसकेपछि डेटा हब र कारोबार प्रणाली व्यवस्थापन गरिरहेको वाइको प्रालिको आग्रहमा स्टक ब्रोकर्स एसोसिएसनले नेप्सेलाई कारोबार स्थगनका लागि पत्र पठाएको थियो। वाइकोले डेटा सेन्टर र नेप्सेबीचको नेटवर्क कनेक्टिभिटीका कारण घटनाले साइबर सुरक्षा, सञ्चालन तथा डेटा चोरीसम्बन्धी सम्भावित जोखिम निम्त्याउन सक्ने जनाएको छ।

यसअघि पनि नेप्से तथा कारोबार प्रणालीमा पटक–पटक प्राविधिक समस्या देखिँदै आएको छ। १७ फागुन २०८२ मा केही कम्पनीको बन्द मूल्य शून्य देखिएपछि नेप्से सूचक अस्वाभाविक रूपमा ८८५.३२ अंक अर्थात् ३३.३४ प्रतिशत घटेको देखिएको थियो। त्यस्तै, ८ साउन २०८३ मा कारोबार बन्द भएको करिब १५ मिनेटपछि नेप्से वेबसाइट र टीएमएसमा सूचक एकैपटक करिब ३७ प्रतिशत घटेको देखिएको थियो। नेप्सेले यी दुवै घटनालाई प्राविधिक तथा डेटा त्रुटिका रूपमा व्याख्या गरेको थियो।

सेयरविज्ञ नीरज गिरीले कारोबार प्रणाली, डेटा सेन्टर तथा अन्य प्राविधिक संरचनाको अन्तिम जिम्मेवारी र नियन्त्रण प्रभावकारी रूपमा व्यवस्थापन हुन नसक्दा समस्या दोहोरिएको बताएका छन्। उनका अनुसार यस्ता घटनाले बजारप्रति लगानीकर्ताको विश्वास र उनीहरूको सम्पत्तिको सुरक्षामा समेत जोखिम सिर्जना गर्न सक्छ।

सेयर लगानीकर्ता सुभासचन्द्र ढुंगानाले पनि कारोबार प्रणालीमा सीमित कम्पनीको निर्भरता र वैकल्पिक व्यवस्थाको अभावका कारण लगानीकर्तामा अनिश्चितता बढेको बताएका छन्। बजार बन्द भएको अवस्थामा अर्को दिन कारोबार खुल्ने वा नखुल्ने विषयमा समेत समयमा औपचारिक जानकारी नआउनु समस्या भएको उनको भनाइ छ।

यसैबीच, नेपाल धितोपत्र बोर्डले घटनाबारे छानबिन थालेको छ। बोर्डका अध्यक्ष गोपाल भट्टका अनुसार बोर्डले टोली खटाएर घटनाको अध्ययन तथा जाँचबुझ गर्न निर्देशन दिएको छ। बोर्डले नेप्सेलाई कारोबार रोक्नुपर्ने अवस्थाको अध्ययन गरी यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न निर्देशन दिएको जनाएको छ।

नेप्से सञ्चालक समितिले डेटा हबको समस्या समाधान नभए पनि वैकल्पिक व्यवस्थामार्फत कारोबार सञ्चालन गर्ने विषयमा छलफल गरेको जनाइएको छ। समस्या समाधान भए सबै ब्रोकरमार्फत कारोबार सञ्चालन गर्ने र समस्या कायमै रहे बाँकी १८ ब्रोकरमार्फत भए पनि कारोबार खुला गर्ने विषयमा सहमति भएको स्रोतलाई उद्धृत गर्दै फाइलमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्