कांग्रेसको १५औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म युवाको प्रतिनिधित्व सुनिश्चित

काठमाडौँ – नेपाली कांग्रेसले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार १५औँ महाधिवेशन गर्ने भएको छ । संशोधित विधानले पार्टीको संगठनात्मक संरचनाका विभिन्न तहमा युवाको प्रतिनिधित्वलाई अनिवार्य गरेपछि यसपटक कांग्रेसको वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म नयाँ पुस्ताको उल्लेख्य सहभागिता हुने भएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कांग्रेसभित्र रूपान्तरण र पुस्तान्तरणको बहस तीव्र बनेको थियो । त्यसपछि नेता गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा पुस्तान्तरण र संगठनात्मक रूपान्तरणको अभियान अघि बढाउँदै विशेष महाधिवेशन आयोजना गरेका थिए । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित हुनुभएको थियो । सोही महाधिवेशनले विधान संशोधन गर्दै पार्टीका विभिन्न निकायमा ३० तथा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरेको हो ।

कांग्रेसमा यसअघि विधानमै युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको थिएन । करिब आठ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा अब हुने वडा अधिवेशनदेखि नै संशोधित विधानको प्रभाव देखिनेछ । असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका रहेको छ भने त्यसपछि क्रमशः गाउँ/नगर, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेर १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा गर्ने तयारी गरिएको छ ।

वडामै युवाको अनिवार्य प्रतिनिधित्व

संशोधित विधानअनुसार वडा कार्यसमितिमा सभापति, एक महिलासहित दुई उपसभापति, सचिव, सहसचिव र निर्वाचित सदस्य रहने व्यवस्था छ । निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनीत गरिनेछ । वडा कार्यसमितिमा कम्तीमा एक जना ३० वर्षमुनिको युवा सदस्य अनिवार्य रूपमा रहने व्यवस्था गरिएको छ ।

वडा कार्यसमितिमा कम्तीमा एक तिहाइ महिला हुनुपर्ने तथा समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि कायम छ । वडा अधिवेशनले प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ ।

गाउँपालिका वडा क्षेत्रमा १५० भन्दा कम क्रियाशील सदस्य भएमा पनि ३० वर्ष नपुगेका युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । त्यस्ता वडाबाट एक महिलासहित तीन जना ३० वर्षमुनिका युवा प्रत्यक्ष निर्वाचनमार्फत क्षेत्रीय प्रतिनिधि बन्नेछन् ।

१५० भन्दा बढी क्रियाशील सदस्य भएका वडामा क्रियाशील सदस्यको संख्याका आधारमा थप प्रतिनिधि चयन हुनेछन् । प्रत्येक थप १५० क्रियाशील सदस्य बराबर दुई महिला र एक युवासहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाबाट भने ३० वर्षमुनिका दुई जना क्षेत्रीय प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।

गाउँदेखि प्रदेशसम्म युवाको सहभागिता

गाउँपालिका कार्यसमितिमा कम्तीमा एक महिलासहित ३० वर्षमुनिका तीन जना युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । नगर कार्यसमितिमा पनि एक महिलासहित तीन जना ३० वर्षमुनिका युवा रहने व्यवस्था छ । गाउँ तथा नगर कार्यसम्पादन समितिमा समेत युवाको प्रतिनिधित्व रहनेछ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा कम्तीमा एक जना ३० वर्षमुनिका युवा सदस्य रहने व्यवस्था संशोधित विधानले गरेको छ । प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा भने एक महिलासहित दुई जना ३० वर्षमुनिका युवा सदस्य अनिवार्य रहनेछन् ।

जिल्ला कार्यसमितिमा पनि युवाको सहभागिता सुनिश्चित गरिएको छ । सभापति, उपसभापति, सचिव, दुई सहसचिव, कोषाध्यक्ष तथा सदस्य रहने जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना ३० वर्षमुनिका युवा सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रदेश कार्यसमितिमा भने ३५ वर्षमुनिका दुई महिलासहित सात जना युवा सदस्य निर्वाचित हुने व्यवस्था छ । क्रियाशील सदस्य रहेका युवामध्येबाट उम्मेदवारी दिने व्यवस्था भएकाले प्रदेश तहमा समेत नयाँ पुस्ताको प्रत्यक्ष सहभागिता बढ्ने देखिएको छ ।

१६५ निर्वाचन क्षेत्रबाट ४९५ युवा महाधिवेशन प्रतिनिधि

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको छ । संशोधित विधानअनुसार प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका एक महिलासहित तीन जना युवा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट यसरी कम्तीमा ४९५ जना युवा महाधिवेशन प्रतिनिधि आउने सुनिश्चित भएको छ । एउटा प्रतिनिधि सभा क्षेत्रबाट कम्तीमा ३२ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति तथा गाउँ–नगर कार्यसमितिका सभापति समेत केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने नयाँ व्यवस्था गरिएको छ । गाउँ तथा नगर सभापतिलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था कांग्रेसले पहिलोपटक विधानमा समेटेको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधि नै प्रदेश महाधिवेशनका प्रतिनिधि समेत हुनेछन् ।

महासमितिमा पनि युवा अनिवार्य

महासमिति सदस्यमा समेत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । प्रतिनिधि सभा क्षेत्रले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचन गरी महासमिति सदस्य चयन गर्नेछ । प्रत्येक प्रतिनिधि सभा क्षेत्रमा कम्तीमा १२ जना महासमिति सदस्य रहने र तीमध्ये ३५ वर्ष ननाघेका कम्तीमा एक जना युवा अनिवार्य रूपमा चयन गर्नुपर्ने व्यवस्था छ ।

यसले केन्द्रीय महाधिवेशनपछि पार्टीको नीति निर्माण तथा महत्वपूर्ण निर्णय प्रक्रियामा समेत नयाँ पुस्ताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नेछ ।

केन्द्रीय कार्यसमितिमा २१ जना युवा

संशोधित विधानले कांग्रेसको सबैभन्दा शक्तिशाली संगठनात्मक संरचना केन्द्रीय कार्यसमितिमा समेत युवाको संख्या स्पष्ट रूपमा सुनिश्चित गरेको छ । महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुनेछन् । सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक महिलासहित तीन जना सहमहामन्त्री मनोनीत गर्न सक्ने भएकाले सहमहामन्त्रीको संख्या ११ पुग्नेछ ।

केन्द्रीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचनबाट ३५ जना सदस्य आउनेछन् । महाधिवेशन प्रतिनिधिमध्येबाट नौ जना महिला केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने सात प्रदेशबाट एक महिलासहित तीन–तीन जनाका दरले २१ जना सदस्य निर्वाचित हुनेछन् । समावेशी समूहबाट ५५ जना तथा विभिन्न क्षेत्रबाट दुई महिलासहित सात जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।

यसबाहेक ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि मात्र उम्मेदवार बन्न पाउने गरी सात प्रदेशबाट एक महिलासहित दुई–दुई जना र खुलाबाट सात जना गरी कुल २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसले केन्द्रीय कार्यसमितिमा युवाको प्रतिनिधित्वलाई विधानमै बाध्यकारी बनाएको छ ।

नेपाली जनसम्पर्क समिति महाधिवेशन प्रतिनिधिमात्र उम्मेदवार बन्न पाउने गरी छ जना केन्द्रीय सदस्य रहनेछन् । अल्पसंख्यक तथा अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । सभापतिले समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै युवासहित ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था पनि विधानमा छ ।

सभापति र प्रदेश सभापति पदेन केन्द्रीय सदस्य

संशोधित विधानले प्रतिनिधि सभा संसदीय दलका नेता र प्रदेश कार्यसमिति सभापतिलाई केन्द्रीय कार्यसमितिको पदेन सदस्य बनाउने व्यवस्था गरेको छ । यसअघि उनीहरूलाई आमन्त्रित केन्द्रीय सदस्यका रूपमा केन्द्रीय समिति बैठकमा सहभागी गराउने गरिएको थियो ।

त्यसैगरी अघिल्लो विधानमा सभापतिमा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वतः सम्बन्धित कार्यसमितिको सदस्य रहने व्यवस्था थियो । संशोधित विधानले भने उक्त व्यवस्था हटाएको छ ।

कार्यसम्पादन समितिमा पनि युवाको सहभागिता

केन्द्रीय कार्यसम्पादन समितिमा समेत युवाको प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने व्यवस्था गरिएको छ । सभापतिले केन्द्रीय सदस्यहरूमध्येबाट कार्यसम्पादन समिति गठन गर्दा युवा प्रतिनिधित्वसहित समावेशी संरचनालाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ ।

यसरी कांग्रेसको संशोधित विधानले वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म युवालाई केवल सहभागिताका लागि मात्र नभई निश्चित संख्यामा प्रतिनिधित्वको अवसर दिएको छ । पार्टीको आगामी १५औँ महाधिवेशनबाट यसको कार्यान्वयन सुरु हुने भएकाले यसपटकको महाधिवेशनलाई कांग्रेसभित्र पुस्तान्तरण र नयाँ पुस्ताको राजनीतिक सहभागिताको दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्