काठमाडौँ – सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ । जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा गएको ‘आइस-रक एभलान्स’ अर्थात् हिमपहिरोका कारण ठूलो बाढी आएको निष्कर्ष निकालेको हो ।
प्रतिवेदनअनुसार माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा ठूलो परिमाणमा हिउँ र चट्टान एकैपटक खसेपछि नदीमा अत्यधिक पानी र गेग्रानसहितको बाढी आएको थियो । हिमपहिरो खस्ने क्रममा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । यसले बाढी सामान्य वर्षाजन्य घटना नभई हिमाली क्षेत्रमा भएको आकस्मिक र शक्तिशाली प्राकृतिक घटनाको परिणाम रहेको देखाएको छ । बाढीको वेगसमेत असाधारण रहेको अध्ययनले देखाएको छ । प्रतिवेदनअनुसार बाढी रसुवागढीसम्म प्रतिघण्टा करिब ८८ किलोमिटरको तीव्र गतिमा उर्लिएर आएको थियो । यति तीव्र गतिमा बाढी आएपछि नदी किनारमा रहेका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई पूर्वसूचना प्रवाह गर्न पर्याप्त समयसमेत उपलब्ध हुन सकेन ।
तीव्र वेगको बाढीले रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुमा रहेका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्णरूपमा नष्ट गरिदिएको प्रतिवेदनमा उल्लेख छ । जलमापन केन्द्रहरू नै बाढीको चपेटामा परेपछि तत्काल नदीको जलस्तर तथा बहावसम्बन्धी तथ्याङ्क संकलन र पूर्वानुमानमा समेत चुनौती उत्पन्न भएको थियो । यद्यपि बाढी आएको छोटो समयमै राष्ट्रिय विपद् पूर्वसूचना प्रणालीमार्फत प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा सन्देश पठाइएको प्रतिवेदनमा जनाइएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका सम्भावित प्रभावित क्षेत्रमा ६ लाख ७८ हजारभन्दा बढी एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको केन्द्रले जनाएको छ ।
बाढीपछि माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा दुई वटा नयाँ अस्थायी तालसमेत बनेका छन् । ती तालमा पानी तथा गेग्रान जम्मा भएकाले कुनै पनि बेला ताल फुट्न सक्ने जोखिम रहेको प्रतिवेदनले औँल्याएको छ । ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले प्रभावित तथा तल्लो तटीय क्षेत्रको जोखिम अझै पूर्णरूपमा टरेको छैन । यसैलाई मध्यनजर गर्दै भविष्यमा यस्ता आकस्मिक घटनाबाट हुने क्षति कम गर्न तत्काल पूर्वसूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ । सम्भावित जोखिम पहिचान र तत्काल सूचना प्रवाहका लागि रसुवाको टिमुरेमा नेपालमै पहिलोपटक सीसीटीभीमार्फत ‘रियल-टाइम’ नदी अनुगमन प्रणाली जडान गरिएको छ ।
नयाँ प्रणालीबाट नदीको बहाव र अवस्थालाई प्रत्यक्ष निगरानी गर्न सकिने तथा जोखिमको संकेत देखिएमा सम्बन्धित निकायलाई तत्काल सूचना दिन सहज हुने अपेक्षा गरिएको छ । भोटेकोशी बाढीको घटनाले हिमाली क्षेत्रमा वर्षा मात्र नभई हिमपहिरो, चट्टान खस्ने तथा अस्थायी ताल फुट्नेजस्ता आकस्मिक घटनाबाट समेत तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम उत्पन्न हुन सक्ने देखाएकाले पूर्वसूचना तथा निगरानी प्रणालीलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता देखिएको छ ।



