काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी विपद्बाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ। प्याब्सनले आफ्ना सदस्य विद्यालयबाट संकलित रकममध्ये १२ करोड रुपैयाँ सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरेको हो।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले विपद्का कारण देश नै दुःखमा परेको अवस्थामा राष्ट्रलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँका अनुसार करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनमा देशभरका ६ हजारभन्दा बढी निजी तथा आवासीय विद्यालय आबद्ध छन्। विपद्पछि प्याब्सनले प्रधानमन्त्री विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
प्याब्सन महासचिव आरबी कटवालले सदस्य विद्यालयहरूले आफ्ना नियमित सञ्चालन खर्च, शिक्षक तथा कर्मचारीको दायित्व र राज्यलाई बुझाउनुपर्ने करसमेत व्यवस्थापन गर्दै उत्साहपूर्वक सहयोग गरेको बताउनुभयो। विद्यालयहरूको अपेक्षाभन्दा बढी सहयोग प्राप्त भएकाले थप रकमसमेत संकलन भएको उहाँको भनाइ छ।
प्याब्सनले संकलित सहयोगलाई पारदर्शी बनाउन जिल्लास्तरबाट संकलित विवरण प्रदेश र केन्द्रमा पठाउने व्यवस्था गरेको जनाएको छ। सहयोगको समग्र विवरण सरकारलाई समेत उपलब्ध गराइने अध्यक्ष अधिकारीले बताउनुभयो। सहयोग गर्ने प्रत्येक विद्यालय तथा संस्थाको योगदानको कदरस्वरूप प्याब्सन केन्द्रले सरकारसँगको सहकार्यमा प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो।
यसैबीच, विपद्बाट रसुवा र नुवाकोटमा रहेका प्याब्सनका पाँच सदस्य विद्यालयसमेत गम्भीर रूपमा प्रभावित भएका छन्। ती विद्यालयको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्याब्सनले २ करोड रुपैयाँ छुट्याएको प्याब्सन महासचिव आरबी कटवालले जानकारी दिनुभयो। विद्यालयको भौतिक संरचना तथा शैक्षिक गतिविधि पुनः सञ्चालन गर्न उक्त रकम खर्च गरिने जनाइएको छ।
अध्यक्ष अधिकारीका अनुसार यस महिनाको ३१ गतेसम्म थप प्राप्त हुने सहयोग रकममध्ये प्रभावित विद्यालयको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि छुट्याइएको २ करोड रुपैयाँबाहेक बाँकी सम्पूर्ण रकम पनि नेपाल सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिनेछ। प्याब्सन महासचिव आरबी कटवालले निजी विद्यालयहरू शिक्षा प्रदान गर्ने संस्था मात्र नभई देशलाई संकट पर्दा सरकार र समुदायको सहयोगी तथा जिम्मेवार साझेदारसमेत भएको बताउनुभयो। गुणस्तरीय शिक्षासँगै राष्ट्रप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्नु निजी विद्यालयको पनि दायित्व भएको उहाँको भनाइ छ।
प्याब्सन महासचिव आरबी कटवालका अनुसार प्याब्सनमार्फत गरिएको सहयोग देशभरका हजारौँ निजी विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीको राष्ट्रप्रतिको माया, एकता र सामाजिक जिम्मेवारीको प्रतीक भएको बताउनुभयो। विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। प्याब्सनले आगामी दिनमा पनि विपद् तथा राष्ट्रिय संकटका समयमा सरकार र नेपाली जनताको साथमा रहने प्रतिबद्धता जनाएको छ।



