काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । समितिका सदस्य सचिव राजु कटुवालले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबार बैठक बस्ने जानकारी दिएका हुन् । विज्ञप्तिअनुसार निर्वाचन समितिको बैठक भदौ २३ गते मंगलबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा महाधिवेशनअन्तर्गत यसअघि तय गरिएको निर्वाचन तथा अधिवेशन कार्यतालिकालाई पछिल्लो निर्णयअनुसार कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिकसम्बन्धी विवाद समाधान गर्दै सबै सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको थियो । उक्त निर्णयपछि निर्वाचन समितिले पनि महाधिवेशनको कार्यतालिका पुनरावलोकन गरी आवश्यक परिमार्जन गर्न लागेको हो ।
निर्वाचन समितिको बैठकमा अधिवेशनका प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन तथा यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनहरूको नयाँ मिति निर्धारणबारे ठोस छलफल हुने बताइएको छ । साथै, सदस्यता विवाद टुंगिएपछि महाधिवेशन प्रक्रियालाई थप व्यवस्थित र समयमै अघि बढाउने विषयमा पनि समितिले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ । कांग्रेसले महाधिवेशनको तयारीलाई गति दिइरहेका बेला निर्वाचन समितिको यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कार्यतालिका परिमार्जनपछि पार्टीका वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा अन्य तहका अधिवेशनको प्रक्रिया नयाँ तालिकाअनुसार अघि बढ्नेछ।



