काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइएको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बाढीका कारण मृत्यु भएका नागरिकप्रति सम्मान व्यक्त गर्न सरकारले आज राष्ट्रिय शोक मनाएको हो ।
बाढी आएको १३औँ दिनमा सरकारले मृतकप्रति उच्च सम्मान प्रकट गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सोही निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।
सरकारले राष्ट्रिय शोकमार्फत बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गरेको छ । अकल्पनीय प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ ।
राष्ट्रिय शोकको दिन मृतकको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने अवसरसँगै विपत्तिबाट प्रभावित परिवार र समुदायको पुनर्स्थापना तथा पुनर्निर्माणमा राज्यका सबै संयन्त्र थप जिम्मेवार भएर अघि बढ्नुपर्ने सन्देशसमेत दिएको छ । सरकारले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको दीर्घकालीन सम्बोधन गर्दै प्रभावित क्षेत्रलाई पुनः सामान्य अवस्थामा फर्काउने कामलाई प्राथमिकतामा राखेको जनाएको छ।




