काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गर्नुभएको छ। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको विश्वास रहेको उहाँले बताउनुभएको छ।
विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उल्लेख गर्दै उहाँले यसले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने बताउनुभएको छ। आशीर्वाद ग्रहण गर्न टाढा रहेका मान्यजनकहाँ समेत पुग्ने नेपाली परम्पराले पारिवारिक आत्मीयता र सम्बन्धलाई थप बलियो बनाउने उहाँको भनाइ छ।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने बताउनुभएको छ। उहाँले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिलाई आजको समयका आसुरी प्रवृत्तिका रूपमा उल्लेख गर्दै यस्ता समस्या हटाउन सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिनुभएको छ।
हरेक नागरिकलाई सरकार आफ्ना लागि पनि छ भन्ने अनुभूति गराउन सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उहाँले इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै समाजमा विद्यमान विकृति हटाउन सकिने बताउनुभएको छ। परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि सुधार आवश्यक रहेको उहाँको भनाइ छ।
विविध भौगोलिक, सांस्कृतिक र भाषिक पहिचान भएको नेपाली समाजमा विजयादशमीले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने अवसर प्रदान गर्ने प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। यस पर्वले लामो समयदेखि टाढिएका साथीभाइ तथा आफन्तसँग आत्मीयता साट्ने अवसरसमेत दिने उहाँको भनाइ छ।
प्रधानमन्त्री शाहले सबैलाई आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गर्नुभएको छ।





Welcome to popups plugin