काठमाडौँ- भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितलाई दक्षिण कोरियाली कलाकार तथा लेखक कु ह्युन किमले ५ हजार किलो चामल सहयोग गरेका छन्। ८० वर्षीय किमले कोरियास्थित बुद्धिस्ट एकेडेमी, बुद्धिस्ट रिभ्यु र छेओङयाङ ट्राभल स्कुलका २६ सदस्यसँग मिलेर ५ लाख रुपैयाँ जुटाई उक्त सहयोग उपलब्ध गराएका हुन्। परिचय एड्भरटाइजिङको संयोजन र उत्तरगया गाउँपालिकाको सहजीकरणमा २५ किलोका २०० बोरा चामल पीडित परिवारसम्म पुर्याइनेछ।

किमले ७५ वर्षअघि कोरियाली युद्धका कठिन समयमा नेपालले कोरियालाई चामल सहयोग गरेको स्मरण गर्दै अहिलेको सहयोग त्यसैप्रतिको कृतज्ञता भएको बताए। विगत ११ वर्षदेखि नेपाल आउजाउ गर्दै आएका उनले नेपाललाई आफ्नो दोस्रो घर मान्दै आएका छन्।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले कठिन परिस्थितिमा बाढीपीडितलाई सहयोग गरेकोमा किम र उनको टोलीप्रति आभार व्यक्त गरे। परिचय एड्भरटाइजिङका प्रबन्ध निर्देशक सोभित बस्यालले पनि राहत लक्षित वर्गसम्म पुर्याउन समन्वय गर्नु संस्थाको सामाजिक दायित्व भएको बताए।




