काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
पोखरा एभेन्जर्सले हसनलाई टोलीमा अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको हो । बङ्गलादेशका अनुभवी अलराउन्डर हसन आईसीसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौँ स्थानमा छन् ।
३१ वर्षीय हसनले बङ्गलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ७८ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा १५ विकेट लिएका छन् । उनले बङ्गलादेश प्रिमियर लिगमा पनि विभिन्न ६ टोलीबाट खेलेका छन् ।
एनपीएल हसनको पहिलो विदेशी लिग हुने जनाइएको छ । पोखरा एभेन्जर्सले यसअघि बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि तेस्रो संस्करणका लागि टोलीमा अनुबन्ध गरिसकेको छ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा पोखरा एभेन्जर्सले अनुभवी विदेशी खेलाडीको उपस्थितिमा प्रतिस्पर्धा गर्नेछ ।





Welcome to popups plugin