काठमाडौँ – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौँमा आयोजित एक समारोहबीच स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमारराज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
एकीकृत कारोबारसँगै दुवै संस्थाको शाखा सञ्जाल, सदस्य संख्या, कर्जा तथा बचत कारोबार अब एउटै संस्थामार्फत सञ्चालन हुने भएको छ । दुई संस्थाको एकीकरणले वित्तीय स्रोत, जनशक्ति र सञ्चालन प्रणालीलाई एकीकृत गर्दै संस्थाको समग्र वित्तीय क्षमता तथा सञ्चालन दक्षता थप मजबुत बनाउने अपेक्षा गरिएको छ । एकीकृत कारोबारअघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ८९ करोड ५६ लाख रुपैयाँ र विन नेपाल लघुवित्तको चुक्ता पुँजी करिब ८ करोड ४३ लाख रुपैयाँ रहेको थियो । एकीकरणपछि एकीकृत संस्थाको चुक्ता पुँजी करिब ९७ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, एकीकृत कारोबारपछि संस्थाको कुल शाखा संख्या ११२, सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी र कर्मचारी संख्या करिब ६१९ पुगेको छ । संस्थाका अनुसार एकीकृत संस्थाको कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने कुल बचत करिब ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । लघुवित्त क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा दुई संस्थाको एकीकरणले पूँजीगत आधारसँगै वित्तीय पहुँच र सञ्चालन क्षमता विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा वित्तीय सेवा विस्तार गर्न एकीकृत संस्थाले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
एकीकृत कारोबार शुभारम्भसँगै स्वरोजगार लघुवित्तले थप सबल र प्रतिस्पर्धी वित्तीय संस्थाका रूपमा अघि बढ्दै सदस्य तथा सेवाग्राहीलाई गुणस्तरीय, सहज र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । संस्थाले एकीकरणबाट प्राप्त स्रोत, अनुभव र सञ्जाललाई उपयोग गर्दै आगामी दिनमा वित्तीय पहुँच विस्तार तथा सदस्यको आर्थिक सशक्तीकरणमा केन्द्रित हुने जनाएको छ ।



