रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ । विनाशकारी बाढी आएको १३औँ दिनमा मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न राष्ट्रिय शोक मनाउन लागिएको हो । राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । सरकारले राष्ट्रिय शोक घोषणा गरे पनि आज सार्वजनिक बिदा भने नहुने स्पष्ट पारेको छ । सरकारले नागरिकलाई आफ्नो नियमित कामसँगै बाढीमा ज्यान गुमाएकाहरूप्रति सम्मान र शोक व्यक्त गर्न आग्रह गरेको छ ।

राष्ट्रिय शोकको यो दिन मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने मात्र नभई विपत्तिपछि अझै सम्पर्कविहीन रहेका नागरिकको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित रूपमा घर फर्काउने तथा प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणलाई गति दिने राष्ट्रिय संकल्पको दिनका रूपमा समेत लिइएको छ । सरकारले विपत्तिबाट प्रभावित नागरिकलाई राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा प्राथमिकता दिने जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि अझै ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्य सुरक्षा निकाय र सम्बन्धित निकायको समन्वयमा निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ । उद्धारको सम्भावना रहेका स्थानमा विशेष प्राथमिकताका साथ खोजी कार्य अघि बढाइएको छ । बाढीबाट घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत जारी छ । उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापन तथा आवश्यक सेवा उपलब्ध गराउन रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । ती केन्द्रमा रहेका नागरिकलाई स्वास्थ्य, खाद्यान्न, आवास तथा अन्य आधारभूत आवश्यकता पूरा गर्न आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको छ ।

सरकारका अनुसार अहिले तीन हजारभन्दा बढी नागरिक होल्डिङ सेन्टरमा रहेका छन् । उद्धार र राहत वितरणसँगै उनीहरूको सुरक्षित पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित बस्तीको पुनःव्यवस्थापनको काम पनि सुरु भइसकेको छ । राष्ट्रिय शोकको दिनले विपत्तिमा ज्यान गुमाएकाप्रति सम्मान गर्दै प्रभावित परिवार र समुदायलाई पुनः सामान्य जीवनमा फर्काउन राज्यका सबै संयन्त्र एकजुट भएर अघि बढ्नुपर्ने सन्देश दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्