काठमाडौँ– नेपाली सेनाले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाका अनुसार बुधबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट छ जनाको उद्धार गरिएको छ।
रसुवास्थित लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको छ। सोही क्षेत्रमा सम्भावित प्रभावितको खोजीका लागि टोलीले कठिन भूगोलका बीच काम गरिरहेको सेनाले जनाएको छ।
त्यस्तै, चिलिमे हाइड्रोमा पनि विदेशी नागरिकसहितको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।
त्रिशूली–१ आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्साभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा थुप्रिएको लेदो र माटो हटाउने काम गरेको छ। टनेलभित्र प्रवेश गर्ने मार्ग खुलाउन राति करिब २ बजे होल ठूलो बनाउन ब्लास्टिङ गरी सफा गर्ने कार्यसमेत गरिएको नेपाली सेनाले जनाएको छ।
त्यसैगरी, त्रिशूली–२ आयोजनामा नेपाली सेनाका ८९ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य गरिरहेको छ। टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी त्यहाँ पुग्ने बाटो निर्माण गरिरहेको छ। एक्साभेटरको प्रयोग गरी बाटो खन्ने तथा थुप्रिएको माटो पन्छाउने काम भइरहेको छ।
बस्ती–बस्तीमा खोजी तथा स्वास्थ्य सेवा
बाढी प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउँदै आवश्यक खोज तथा उद्धार र स्वास्थ्य सेवा प्रदान गरिएको छ। चिकित्सकसहितको टोलीले पैदल गस्ती गर्दै प्रभावित स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको नेपाली सेनाले जनाएको छ।
त्रिशूली नदीपारि कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा समेत खोज तथा उद्धार कार्य भइरहेको छ। नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले स्याफ्रुबेँसी क्षेत्रमा पनि खोज तथा उद्धारलाई निरन्तरता दिएको छ।
सम्भावित सङ्क्रमण फैलिन नदिन चिकित्सकहरूले नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सचेतनामूलक कक्षा सञ्चालन गरेका छन्। प्रभावित तथा विस्थापित नागरिकलाई स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको सेनाले जनाएको छ।
९ हजार ३०० भन्दा बढी सैनिक परिचालन
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका नौ हजार ३०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
परिचालित सैनिकले अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन, आपत्कालीन उपचार तथा अन्य उद्धार र राहतका कार्य गरिरहेका छन्।
प्रधानसेनापति सिग्देलद्वारा स्थलगत निरीक्षण
यसैबीच, प्रधानसेनापति महारथी अशोकराज सिग्देलले नेपाली सेनालगायत सम्बन्धित निकायले संयुक्त रूपमा सञ्चालन गरिरहेका खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गर्नुभएको छ।
उहाँले त्रिशूली नदी, टनेललगायत बाढीबाट प्रभावित विभिन्न क्षेत्रको निरीक्षण गर्दै सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ।
प्रधानसेनापति सिग्देलले नेपाली सेनाका सकल दर्जालाई उच्च मनोबलका साथ उद्धार तथा राहत कार्यमा निरन्तर खटिनसमेत निर्देशन दिनुभएको छ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय निरन्तर उद्धार तथा राहत कार्यमा परिचालित छन्।



