काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। तर बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको खोजी, राहत तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ।
जसमध्ये नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। उनीहरूले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्।
१ हजार २०४ जनाको मृत्यु
प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार २०४ जनाको मृत्यु भएको छ।
हालसम्म फेला परेका शवमध्ये रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ रहेका छन्।
बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेका कारण कतिपय स्थानमा खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ।
सेनाको हवाई उद्धार तीव्र
विपद्का बेला नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। सेनाले हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिक गरी ४ हजार ३६४ जनाको हवाई उद्धार गरेको छ।
खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ। बुधबार मात्रै ८० वटा हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ।
निजी क्षेत्रबाट समेत २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग भएको छ। सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार र राहत सामग्री पुर्याउने काम भइरहेको छ।
सुरक्षाकर्मी र सरकारी कर्मचारी पनि सम्पर्कविहीन
बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन रहेका छन्। त्यस्तै भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन जना पनि सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार रसुवाबाट करिब ८६५, नुवाकोटबाट १ हजार ५५८ जना सम्पर्कविहीन छन्। त्यस्तै ५८३ विदेशी नागरिक तथा पर्यटकसँग गएका १६४ नेपाली पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
यसैगरी जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
राहत तथा स्वास्थ्य सामग्री पठाउने क्रम जारी
बाढीबाट प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम भइरहेको छ।
एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति भएको र हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
प्राधिकरणले प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्रीको पहुँच विस्तारसँगै सम्पर्कविहीन नागरिकको खोजीलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ।



