काठमाडौं – नेपाली कांग्रेसले महिला उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ। कांग्रेसका अनुसार भदौ ११ गते सानेपास्थित केन्द्रीय कार्यालयमा हुने एकदिने सम्मेलनमा महिला उद्यमीका चुनौती, सम्भावना, लगानीको पहुँच, बजार विस्तार र प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुनेछ।
सम्मेलनको अवसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी समेत आयोजना गरिनेछ। प्रदर्शनीले उद्यमीलाई आफ्ना उत्पादन उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसम्म प्रत्यक्ष रूपमा पुर्याउने अवसर दिने कांग्रेसले जनाएको छ। कार्यक्रममा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागितामा तीनवटा विषयगत प्यानल छलफल सञ्चालन गरिनेछ। महिला उद्यमीले भोगिरहेका वित्तीय तथा बजारसम्बन्धी समस्या, डिजिटल प्रविधिको उपयोग र व्यवसाय विस्तारका सम्भावनाबारे छलफल हुने बताइएको छ।
सम्मेलनको विशेष आकर्षणका रूपमा ‘मेरो उद्यमशील यात्रा’ सत्रसमेत राखिएको छ। यसमा सफल महिला उद्यमीहरूले आफ्ना संघर्ष, अनुभव, चुनौती र सफलताको कथा सुनाउनेछन्। त्यस्तै, लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र सञ्चालन गरी व्यवसाय दर्ता, लगानी, सरकारी सेवा र उद्यम विस्तारका अवसरबारे जानकारी दिइनेछ। कांग्रेसले सम्मेलनलाई महिलालाई उद्यमशीलतामार्फत रोजगारी, आयआर्जन, आत्मनिर्भरता र आर्थिक रूपान्तरणसँग जोड्ने मञ्चका रूपमा अघि बढाउन खोजेको जनाएको छ। सम्मेलनमा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।



