उदयपुर – उदयपुरको बेलका नगरपालिका-५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान पौने १० बजेतिर विपरीत दिशाबाट आउँदै गरेका स्कुल बस र अटो ठोक्किएका हुन्। दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए।
गम्भीर घाइते उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। उपचारका क्रममा अटो चालक बेलका नगरपालिका-५ का २८ वर्षीय इन्द्र थापा, सोही ठाउँकी ३४ वर्षीया मन्दिरा मगर र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको धरानमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



