काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको शेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।बजारमा सामान्य वृद्धि देखिए पनि सबै उपसमूह भने बढ्न सकेनन्। विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापार र म्युचुअल फन्ड समूहका सूचक घटेका छन् भने बैंकिङ, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधनलगायतका समूहमा सुधार आएको छ।
आज कारोबार भएका कम्पनीमध्ये १३२ कम्पनीको शेयर मूल्य बढेको, १३२ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ। माउन्ट एभरेस्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै माण्डु हाइड्रोपावर, सानिमा मिडिल तमोर र सानिमा माइ हाइड्रोपावरलगायत कम्पनीका शेयरमा पनि उल्लेख्य वृद्धि देखिएको छ। नेप्से बढेसँगै कारोबार रकममा समेत सुधार आएको छ। अघिल्लो दिन ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ४० करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल ९५ लाख कित्ता शेयर किनबेच भएको बजारमा जलविद्युत् समूहको कारोबार मात्रै २ अर्ब २७ करोड रुपैयाँ पुगेको छ, जुन कुल कारोबारको आधाभन्दा बढी हो।
बजारमा सामान्य सुधार आए पनि कारोबारको ठूलो हिस्सा जलविद्युत् कम्पनीमा केन्द्रित हुनु र सूचकको वृद्धि सीमित रहनुले लगानीकर्ताको सक्रियता अझै केही समूहमा केन्द्रित रहेको देखाएको छ।



